कला/मनोरन्जनकलिउड

मुस्ताङमा ‘कबड्डी पाँच’को छायाङ्कन हुँदै

मुस्ताङको थासाङ गाउँपालिकास्थित थाक सात सय क्षेत्र थासाङका विभिन्न स्थानमा नेपाली कथानक चलचित्र कबड्डीको पाँचौँ संस्करण छायाङ्कन चलिरहेको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो चलचित्र मुस्ताङको थकाली कला, संस्कृति र मौलिकतासँग सम्बन्धित रहेको निर्माण कम्पनीले जनाएको छ । कबड्डीको एकदेखि चौथौ संस्करण सोही स्थानमा छायाङ्कन भइसकेको छ ।

यहाँ थकाली कलासंस्कृतिसँग कथावस्तु जोडिएकाले कबड्डीको पाँचौँ संस्करण पनि थासाङको थाक सात सय क्षेत्रमा छायाङ्कनलाई निरन्तरता दिइएको चलचित्रका निर्माता मणिराम पोखरेलले जानकारी दिनुभयो ।

यहाँ चलचित्र कबड्डीको पाँचौँ संस्करण गत असोज २६ गते मुक्तिनाथ मन्दिरमा शुभारम्भ गरी छायाङ्कन सुरु गरिएको पोखरेलले बताउनुभयो ।

रामबाबु गुरुङको निर्देशन रहेको कबड्डी पाँचको छायाङ्कन थासाङको कोवाङ, नाउरीकोट, लार्जुङ र टुकुचेलगायत स्थानमा भइरहेको निर्माता पोखरेलले जानकारी दिनुभयो ।

यसपटक कबड्डीको पाँचौँ संस्करण थकाली कला, संस्कृति समेट्ने गरी विशेष महत्वका साथ अघि बढाउने प्रयास भइरहेको निर्माता पोखरेल बताउनुहुन्छ ।

यसअघि कबड्डी चलचित्र सुरु गर्दा यहाँ सामान्य टोली आएकामा यसपटक झन्डै १०० बढी जनशक्ति परिचालन भइरहेको छ । सुरुआती चरणभन्दा कबड्डी पाँचसम्म आइपुग्दा सडक यातायात सहज भएका कारण निकै सहज भएको निर्माता पोखरेलको भनाइ छ ।

“हामीलाई यो स्थानमा चलचित्रको छायाङ्कनको काम गर्न पाउँदा निकै सहज भएको छ, यहाँका समुदाय सबै आफ्नै परिवारजस्तै भएको छ”, निर्माता पोखरेलले भन्नुभयो, “थकाली कथावस्तु र यहाँका समुदायको मायाप्रेम र स्नेहले पटकपटक यो स्थानमा तानिरहेको छ ।”

मुस्ताङको थाक सात सय क्षेत्रमा बसोबास गर्ने थकाली संस्कृति, रहनसहन, परम्परा, वेशभूषा र सामाजिक चरित्रलाई मुख्य कथावस्तुमा समेटिने सहनिर्देशक सोमनाथ खनालले जानकारी दिनुभयो । कबड्डीको पाँचौँ संस्करणमा पुराना कलाकारसहित नयाँ कलाकारको संग्लनता रहेको खनालको भनाइ छ ।

चलचित्रमा दह्याङ राई, बुद्धि तामाङ, विजय बराल, रेश्मा गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, विपिन कार्की, पुस्कर गुरुङ, कविता आले, सृजना गुरुङ, शिशिर वाङ्देल, विष्णु मोक्तान र प्रमिला राईलगायतका कलाकारको अभिनय रहने सहनिर्देशक खनालले जानकारी दिनुभयो ।

चलचित्रका मुख्य पात्र दह्याङ राई काजीको भूमिकामा हुनुहुन्छ । थकाली संस्कृतिमा आधारित काजीको कथावस्तुसँग जोडिएको छ । थकाली काजीको जीवनमा आइपर्ने आरोहअवरोहलाई चलचित्रमा उतार्ने प्रयास भइरहेको सहनिर्देशक खनालले बताउनुभयो । नायकको भूमिकामा वीरकाजी शेरचन, काजीको भूमिकामा दह्याङ रहेको उहाँले जनाउनुभयो ।

कलाकार अरुणा कार्कीले मुस्ताङमा कबड्डीका छायाङ्कन निरन्तर रहनु दर्शकहरूको माया र यहाँका समुदायका माया तथा विश्वासको प्रतिफल रहेको उल्लेख गर्नुभयो ।

काजीकी आमाको भूमिकामा रहनुभएका कार्कीले प्राकृतिक सौन्दर्यता र थकाली समुदायको उद्गमस्थल थासाङ क्षेत्रमा छायाङ्कन भइरहनु आफूहरूका लागि पनि गर्व महसुस भएको बताउनुभयो । कबड्डी एक र दुईमा अभियन गरिसक्नुभएकी कार्कीले यहाँको थकाली संस्कृति बुझ्ने अवसर नजिकबाट प्राप्त भएको बताउनुभयो ।

यसैगरी चलचित्रमा मैयाँको भूमिकामा रहनुभएकी रेश्मा गुरुङले यहाँको नाउरीकोटमा मैयाँको होटल भनेर परिचित रहेकामा गर्व लागेको बताउनुभयो । यो स्थानमा कबड्डीका छायाङ्कनले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याएको गुरुङको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.