राजनीति

नेकपा (एस)ले पार्टी कमिटीमा २० प्रतिशत युवा सुनिश्चित गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जेनजी प्रदर्शनको भावनालाई समेट्न गरी कमिटीमा २० प्रतिशत युवा सुनिश्चित गर्ने बताउनुभएको छ ।

बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउँदै सुशासन, रोजगारी, जनतालाई सहज रूपमा सेवा प्रवाहलगायत विषयलाई सबैले प्राथमिकता राख्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष नेपालले अहिले देशमा उत्पन्न संवैधानिक सङ्कटको समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरण आवश्यक रहेकामा पनि जोड दिनुभयो ।

कम्युनिष्ट पार्टीमा विकृति र विसङ्गति फैलिएकाले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै उहाँले सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वामसमूहबीच एकता, सहकार्य र समन्वय अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले मुलुकमा देखिएको वर्तमान समस्या र अन्योलता समाधान गर्न चुनावको विकल्प नरहेको बताउँदै सरकारले सबै दललाई विश्वासमा लिएर निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय राजनीतिमा कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा र विश्वास रहेको बताउँदै अध्यक्ष नेपालले मुलुकको राजनीतिलाई जनताको पक्षमा ल्याउन कम्युनिष्ट शक्ति संवेदनशील हुनुपर्ने उल्लेख गर्नुभयो ।

बैठकमा वामपन्थी शक्तिबीच एकता तथा सहकार्य गर्ने विषयमा नेताहरूबीच देखिएको मतभिन्नता र आन्तरिक विवादको समाधान केन्द्रीय कमिटी बैठकबाट गरिनेछ ।

पार्टीको वैचारिक दृष्टिकोण तथा सैद्धान्तिक विषयको निर्णय, पुनर्गठनको कार्ययोजनासहित अहिलेको नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको विषयमा पनि निर्णय गरिने पार्टीका पोलिटब्यूरो सदस्य ताजमोहम्मद मियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्ध विभिन्न अभियान सञ्चालनसम्बन्धी विषय तथा आवश्यक कार्यक्रम अनुमोदन गरिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.