राजनीति

प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरूको भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ ।

यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताउनुभयो ।

द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिनुभएको थियो । उहाँहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आउनुभएको छ ।

प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोको सराहना गर्नुभएको सचिव पौड्यालले बताउनुभयो ।

यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री आज दिनभर उच्च भेटवार्तामा रहनुभयो ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–बेलायत समाजका पदाधिकारीहरूले भेटवार्ता गर्नुभएको छ । यहाँस्थित नेपाली राजदूतावासमा आज भएको भेटमा उहाँहरूले समाजले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र त्यसलाई अझ प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

समाजका अध्यक्ष एन्ड्रयु स्पार्क नेतृत्वको टोलीले नयाँ पुस्ताका बेलायतीलाई नेपाल भ्रमणमा अभिप्रेरित गराउन र नेपालप्रति सद्भाव बढाउन केही नयाँ ढङ्गले काम गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले समाजका गतिविधिबारे जानकारी लिँदै नेपालको गौरव र गरिमा बढाउन समाजलाई सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभयो । भेटमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलगायत भ्रमणदलका सदस्य सहभागी हुनुुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.