हेलोविन पर्व मनाउने क्रममा भीडमा किचिएर १५१ जनाको मृत्यु
दक्षिण कोरियाको राजधानी सिओलमा हेलोविन पर्व मनाउने क्रममा भिडमा किचिएर १९ जना विदेशीसहित १५१ जनाको मृत्यु भएको छ ।

घटनामा ८२ जना घाइते भएका छन् भने तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् ।
पर्व मनाउनका लागि इथेवन भन्ने स्थानमा भिड जम्मा भएको थियो । त्यही भिडमा एकजना व्यक्ति लडेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
घटनामा मृत्यु हुनेमा धेरैजसो युवाहरु रहेको अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई सडकमै सुताएर उपचार गरिएको भिडियोमा देखिन्छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान गर्न तथा घाइतेहरुको उद्धार तथा उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।
यो घटनापछि अमेरिकी राष्ट्रपति जो बिडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन लगायत विश्वभरका नेताहरुले समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्