राजनीति

‘जाँचबुझ आयोगको काम निष्पक्ष होस्’

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई सरोकारवालाले निष्पक्ष छानविन र दोषी उपर कारबाहीको माग गरेका छन् ।

आयोगद्वारा बुधबार चितवनमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, घटनाका पीडित र सरकारी कार्यालय प्रमुखहरूले सो सुझाव दिएका हुन् । आयोगका प्रवक्ता विज्ञानराज शर्माले आयोगको निष्पक्षताको विषयमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो ।

एक जनाले चाहेर केही नहुने भएकाले आयोग र पदाधिकारीले पूर्वाग्रही ढङ्गले काम नगर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “आयोग स्पष्ट छ, हामी कुनै पनि आग्रह र पूर्वाग्रह लिएर छानबिन गर्दैनाँै ।”

निजी क्षेत्रको लगानी सुरक्षित कसरी गर्ने भन्ने विषयमासमेत आयोगले ध्यान दिने बताउँदै उहाँले यो घटना कसरी भयो र अब फेरि दोहोरिन नदिन के गर्ने भन्ने विषयमासमेत प्रतिवेदन तयार पार्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको विवरण सुनाउनु भएको थियो । जिल्लामा ६३ वटा सरकारी कार्यालय, ६ वटा स्थानीय तहका भवन, ७१ वटा वडा कार्यालय, ४१ निजी आवासमा क्षति पुगेको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी ३७ वटा चारपाङ्ग्रे सवारी, ८३ वटा दुई पाङ्ग्रे सवारी, रेडक्रसका दुईवटा एम्बुलेन्स जलाइएको छ । एक थान हतियार लुटिएकोमा प्रशासनले फिर्ता ल्याएको उहाँले बताउनुभयो । अर्यालका अनुसार आन्दोलनका क्रममा लुटपाटमा संलग्न दुई जनाको आगोमा निसासिएर मृत्यु भएको छ ।

कारागारबाट भागेका ७४२ कैदी बन्दीमध्ये ६०५ जनालाई फिर्ता ल्याइ सकिएको उहाँले बताउनुभयो । उहाँले आन्दोलनका नाममा भएको अपराधमा संलग्न ३२ जनालाई कारबाही गरिसकेको र अन्य केही नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आयोगले निष्पक्ष ढङ्गले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अराजक भीड र आन्दोलनकारी छुट्याएर कारबाही गरिनुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.