सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूतको शिष्टाचार भेट
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य, वर्तमान अवस्थाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनालगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनीतिक विकासमा भारतबाट सहयोग एवम् सद्भावको सराहना गर्नुभयो ।
मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिका बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन नै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले तोकिएको मितिमा नै निर्वाचन गराउनका लागि सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संवाद अगाडि बढाएको उल्लेख गर्नुभयो ।
बुधबार मात्रै सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच पहिलोपटक औपचारिक रुपमा त्रिपक्षीय बैठक भएको र सबै निर्वाचनका लागि सकारात्मक रहेको उहाँको भनाइ थियो ।
त्यस अवसरमा राजदूत श्रीवास्तवले सञ्चारमन्त्री खरेललाई बधाई ज्ञापन गर्दै असल छिमेकीको नाताले भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भारत सरकार नेपालको आर्थिक रुपान्तरण एवम् समृद्धिका लागि नेपालको प्राथमिकताका क्षेत्रमा वित्तीय र प्राविधिक सहयोग अभिवृद्धि गर्न तयार रहेको बताउनुभयो । भेटवार्तामा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो ।





प्रतिक्रिया राख्नुहोस्