सूचना/प्रविधि

क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान हुँदै, टेलिभिजनको शुल्क बढाउन नपाइने

सरकारले कात्तिक ७ गते मध्यरातदखि लागू गरेको विज्ञापनरहित टेलिभिजन (क्लिन फिड) कार्यान्वयनमा टेलिभिजन सेवा प्रदायक कम्पनीहरु तयार रहे पनि क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा अहिले कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेका छन् । अब भने बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले यही कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने व्यवस्था गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ । ऐनले नै तयारीका लागि एक वर्षको समय उपलब्ध गराउँदा पनि तयारी नगरेपछि कात्तिक ७ यता विज्ञापनसहितका विदेशी च्यानलको प्रसारण वितरकहरूले नै बन्द छन् ।

सरकारले क्लिन फिड कार्यान्वयन गर्न पर्याप्त समय दिए पनि उपकरण आयातको अनुमति र त्यसको जडानमा भएको ढिलाइका कारण कतिपय च्यानलमा पूर्ण रूपमा क्लिन फिड लागू हुन नसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माले जानकारी दिनुुभयो ।

नेपालमा डाउनलिङ्क अनुमति लिएर प्रसारण गर्न पाइने केही सशुल्क च्यानल भने उपकरण जडानको क्रममा रहेकाले कानुन अनुसार अहिले प्रसारण नभएको अवस्थामा छन् । डिस्कभरी, स्टार र बीबीसी लगायत केही च्यानल क्लिन फिडका लागि आवश्यक उपकरण जडानको क्रममा रहेकाले अर्को दुई हप्ताभित्र मात्र पूर्ण कार्यान्वयनमा आउन सक्ने डिसहोमका प्रबन्धनिर्देशक सुदीप आचार्यले बताउनुभयो ।

विज्ञावनसहित टेलिभिजन प्रसारण महंगो पर्ने भएकाले ग्राहकले बढी शुल्क तिर्नुपर्ने बताइए पनि क्लिन फिड कार्यान्वयन गर्दा ग्राहकलाई थप मूल्य बढाउन नपाइने सरकारले स्पष्ट पारेको छ । क्लिन फिडका कारण बढ्न सक्ने सञ्चालन खर्च धान्न टेलिभिजन वितरकले ग्राहकसँग शुल्क बढाउनुको विकल्प नरहेको बताइरहँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो जनाएको हो ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले उपभोक्ताले वितरकसँग सम्झौता गरेर शुल्क तिर्ने हो, अहिलेको मूल्य बढाउन नपाइने बताउनुभया ।

नेपालमा डाउनलिङ्क अनुमति लिएर विदेशी च्यानल प्रसारण गरिरहेका वितरकहरूले भने क्लिन फिड कार्यान्वयन गर्दा दुवैतर्फ खर्च बढ्ने हुँदा भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउन सक्ने बताइरहेका छन् ।

क्लिन फिडका कारण अहिले कतिपय च्यानल प्रसारण बन्द भएको अवस्थामा शुल्क बढाउने तयारी नभए पनि भविष्यमा बढ्न सक्ने खर्चका कारण ग्राहक शुल्क बढाउनुको विकल्प नहुने महासङ्घका अध्यक्ष शर्माको भनाइ छ ।

यसै गरी ऐनमा भएको व्यवस्था अनुसार विदेशी च्यानलहरू विज्ञापनरहित भए नभएको अनुगमनको काम तीव्र पारिएको सचिव बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले गठन गरेको अनुगमन संयन्त्रमार्फत सरकारले यसको अनुगमन गरिरहेको छ ।

सरकारले यसअघि कात्तिक ६ गते ऐनमा भएको व्यवस्था अनुसार क्लिन फिड कार्यान्वयन गराउन सबै टेलिभिजन वितरक तथा प्रसारकलाई औपचारिक जानकारी गराइसकेको थियो । क्लिन फिड प्रसारण गर्न नसकेका कतिपय विदेशी च्यानल अहिले बन्द अवस्थामा नै छन् ।

क्लिन फिड भएका च्यानल मात्र प्रसारण गर्दा केही समय नेपाली उपभोक्ताले हेर्दै आएका धेरै विदेशी च्यानलको प्रसारण प्रभावित भएको थियो । क्लिन फिडका कारण नेपालमा प्रसारण गर्न नसक्ने जनाएका करिब ४० वटा विदेशी च्यानल भने बन्द हुनसक्ने वितरकहरूले जनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.