बिचार

विकृति छाडौं, राम्रा कुरा अँगालौं

नेपाल मुख्य रूपमा हिन्दू धर्मले चिनिने देश हो जहाँ बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक धर्मनिरपेक्ष लोकतान्त्रिक राज्य छ। उदार सनातन धर्मको रूपले चिनिए पनि, कानुनमा सबै धर्मको समान अधिकार छ। सामाजिक बनावटबाट हेर्दा खासै अरू धर्मलाई स्वागत गरिएको जस्तो देखिदैन।

अरू धर्मको त के कुरा आफ्नै धर्मभित्र रहने जातिको आधारमा सामाजिक असन्तुलन देखिन्छ। धार्मिक संस्कारका नाममा महिला हिंसा, जातीय हिंसा, पशुपंक्षी हिंसाको ज्यादती अझै अवशेषका रूपमा बाँकी छन्।

कतिपय राम्रा संस्कृति बोकेको धर्म भए पनि २१ औं शताब्दीमा सनातन हिन्दू संस्कारलाई परिमार्जन गर्न सकिरहेका छैनौं।

धेरैलाई हिन्दू धर्म, हिन्दू संस्कृति मन पर्छ तर धर्मका नाममा सामाजिक ज्यादती, महिला हिंसा, जातीय हिंसा, पशुपंक्षी हिंसा भने पटक्कै मन ठिक होइन। यसको अन्त्य गर्न आफ्नै सामाजिक समस्या र चुनौती भने पक्कै छन्। चिन्ताको विषय हो यो। बेलैमा सचेत हुन जरूरी छ।

महिला हिंसा

महिला हिंसा नेपालका विभिन्न पिछडिएका गाउँ टोल र शहरमा पनि देखिन्छन्। कन्या बाल भ्रूण हत्या, पहिलो पटक किशोरीको ‘पिरियड’ हुँदादेखि नै भैंसीको गोठमा ४ दिनसम्म सुत्नु पर्ने बाध्यता, बाल बिवाह, आफूले रोजेकोसँग नभएर जबरजस्ती बिवाह, सति जाने प्रथा हटे पनि स्वर्गीय श्रीमान्को नाममा एक्लै लामो जीवन बिताउनु पर्ने सामाजिक दबाव अनौठो छ।

आफूलाई मन परे पनि जात नमिले परिवार या समाजको स्वीकृति नपाइने, जबरजस्ती सम्बन्ध राखे जिउँदै समाजले आगो लगाएर जलाइदिने या विभिन्न तरिकाले यातना दिने जस्ता हिंसा भोगिरहेका महिलाहरूले शारीरिक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको छ।

विकसित युगमा यसरी समाज अघि जान सक्दैन, पूर्ण विराम चाहिन्छ। महिला पुरूष बराबरी हैसियतले समाजमा स्थापित हुन पाउनु पर्छ।

अझ अनौठो, महिलाले महिलामाथि नै गर्ने मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुर्व्यवहारहरू अझै पनि पाइन्छ। अन्यत्र मात्र होइन संघीय राजधानी काठमाडौंमै यस्ता घटना हुने गरेका छन्।

परिवारभित्रै कतिपय घटना हुने गरेका छन्। खासगरी संयुक्त परिवारमा कतिपयको यस्तो समस्या देखिन्छ। ससुराले बुहारीलाई योन शोषणपछि हत्यासम्म गरेको घटना सुनिएकै हो।

सासु यस्ता क्रियाकलापको विरोध गर्ने अवस्थामा पनि हुन्नन्। ‘पति परमेश्वर’ को संस्कार जो छ। घरेलु महिला शोषण कथित माथिल्लो जाति या तल्लो जाति सबैमा छ। माथिल्लो भनिने जातिमा अलि बढी नै छ।

विकसित युगमा यसरी समाज अघि जान सक्दैन, पूर्ण विराम चाहिन्छ। महिला पुरूष बराबरी हैसियतले समाजमा स्थापित हुन पाउनु पर्छ।

जातीय हिंसा

पुरानो संस्कार अनुसार नेपालमा जाति व्यवस्था वर्ग ब्राम्हण, क्षत्रीय, वैश्य र शुद्रको आधारमा गरिएको छ। संस्कृतिको आधारमा सुन्दर पहिचान मानिए पनि आआफ्नै रहनसहनसम्म त राम्रै हुन्छ। तर २१ औं शताब्दीमा एकापसमा बसेर खान बस्न नसकिने, आपसमा प्रेम, पारिवारिक सम्बन्ध जोड्न नसकिने, जातको नाममा भाडामा कोठा नपाउने जस्ता अनेकौं समस्या छन्।

पछिल्लो समय भने युवाहरूमा चेतना हुर्कदै आएको देखिन्छ। पीडितको समर्थनमा एक भएर आवाज उठाउने काम पनि भइरहेको छ। नेपालमा अहिले दुई खालका पीडित वर्ग छन्। एक जातीय पीडित वर्ग। दोस्रो गरिबी पीडित वर्ग।

समयको परिवर्तनसँगै विभिन्न देशमा गएर या नेपालमै रहेर आर्थिक उन्नति गर्न सफल परिवारले ब्रामण जो माथिल्लो जातको भनिन्छ, उसलाई रोजगार दिएका पनि छन्। अलि गाउँतिर आफूलाई भगवानले नै यो जन्ममा तल्लो जातको रूपमा जन्म दिएको भन्दै शोषण सहेर बसेको पनि पाइन्छ।

जस्तै, तल्लो जात मानिने सार्की जाति आधुनिक युगमा दलितभित्र पर्ने जात प्राचीनकालमा शुद्रभित्र पर्ने जात हो, खसहरू विभाजित हुँदा बन्न पुगेको मानिन्छ।

किम्वदन्तीअनुसार शाहवंशीय शासनकालमा सत्तामा रहँदा तुच्छ, राज्यलाई नसुहाउने काम गरेको आरोपमा सजायबमोजिम शाहबाट सार्की जातको नाममा बोलाइएको पाइन्छ। मल्लकालमा तिनै जातिका मान्छेले जुत्ता बनाउदा कति राम्रो बनाएको भन्ने स्याबासी मल्लकालिन महाराजाबाट पाएका थिए रे।

एक दिन, महाराजाले जुत्ता खोलेर राखेको ठाउँबाट कुकुरले जुत्ता खायो भनेर उल्टै जुत्ता बनाउनेलाई नै समाजबाट अलि पर राख्ने हुकुम गरेका थिए रे। कस्तो अनौठो। मानिसलाई तल्लो माथिल्लो भनेर छुट्याएको मानिसले नै रहेछ नि आखिर। भगवानले भनेर खुम्चिएर बस्नुपर्ने किन? सामन्ती राजसत्ता फालिसकेपछि अब कुसंस्कार, कुरीतिको हो। यसका लागि आम नेपालीको चेतनापूर्ण अभियान जरुरी छ।

कतिपय अवस्थामा छुवाछुत र अन्य उपेक्षाका कारण क्रिश्चियन धर्म मान्न थालेको पाइन्छ। यसले गर्दा पुरानो संस्कार परिवर्तन गरिएन भने भविष्यमा हिन्दू धर्म स्वयंलाई अप्ठेरो पर्ने अवस्था देखिन्छ।

पशुपक्षी हिंसा

पशुपक्षी पनि प्राणी हुन्। जीवन हुन्छ। आत्मा हुन्छ। नहुने चेतना मात्र हो। पृथ्वीमा ईको सिस्टमको महत्वपूर्ण भूमिका तिनले खेलेका हुन्छन्। विशेषतः घरेलु पशुपक्षीप्रति अमानवीय क्रियाकलाप गरिन्छ।

धर्मको नाममा, दैनिक जनजीवनको नाममा, अनावश्यक दुःख दिएर कष्टपूर्ण तरिकाले बलि दिने, चाड पर्वमा भोजन गर्ने, दैनिक व्यवसायमा प्रयोग गरिन्छ। यो बिल्कुलै गलत छ। पशु अधिकारका लागि चेतना जगाउन जरूरी छ।

भगवानमा विश्वास गर्नेहरुले नै जनावरको आत्मालाई दुःख दिएर फेरि मुक्तिका लागि बलि चढाउने कस्तो परम्परा हो? माछा मासु खानु अपराध होइन बरू प्रकृतिप्रति योगदान हो। तर जथाभाबी हिंसा, अनावश्यक हिंसा गर्नु अपराध हो।

परिवर्तन कसरी?

धर्म मानव जीवनमा सबैभन्दा संवेदनशील कुरा हो। कुनै पनि धर्मको बिरोध गरेको होइन तर अति भने उचित होइन। अतिवादी संस्कारहरु अन्त्य गरिनुपर्छ।

मलाई पनि हिन्दू धर्म मन पर्छ। मेरा बाआमा मेरा भगवान हुन्। मेरा भगवानलाई खुसी राख्नु मेरो धर्म हो। यसको मतलव सधैं उहाँहरूको सोचलाई अन्धकारमा राख्नु होइन।

बाआमालाई सम्झाउने हो। कतिसम्म स्वीकार्नु हुन्छ त्यसमा जोड दिने हो। धेरै बल गर्दा घरभित्रै अराजक अवस्था निम्तन सक्छ। परिवर्तनका लागि नयाँ पुस्ताका छोराछोरीलाई धर्म र मानव जीवनको शिक्षा आधुनिक तरिकाले दिन थालौं।

माछा, मासु जहाँ पायो त्यहीँ बलि या भोजनका लागि अव्यवस्थित तरिकाले काट्ने गर्दा विभिन्न माहामारी उत्पन्न हुन्छ।

भविष्यमा स्वाभाविक रुपले उनीहरुको धर्म प्रतिको आस्था लचिलो बन्दै जान्छ। तल्लो जात, माथिल्लो जातको सम्बोधन होइन। महिला र पुरूषको फरक सम्बोधन होइन। मानिसको अस्तित्व उसको कर्मले गर्ने हो। आचरणले गर्ने हो।

महिला हुन् या तल्लो जातको मानिसले मन परेको जीवन साथी रोज्न पाउने बनाउने, जे पढ्न मन लाग्छ पढ्न पाइने अधिकार सुरक्षित गर्ने, मन लागेको काम, सामाजिक योगदान दिन पाउने बनाउने। यसरी नै सर्वजन हिताय हुन सक्छ।

समाजमा सबै जाति सँगै बसेर चाडपर्व मनाउन सकिने नेपाली सस्कार बनाउन जरूरी छ। मन्दिर बनाउने हो तर मन्दिरमा पशुको पक्षीको बलि दिन रोकिनु पर्छ। अन्न, दूध चढाउन बन्द गर्नुपर्छ।

मन्दिरमा त पवित्र मन पुष्प गुच्छ, पैसा लिएर जाने हो। हामीले चढाएको पैसाले पुजारी र पुजारीका सहयोगीले मन्दिरको मर्मत, सरसफाई र उनीहरूको जीवन निर्वाह हुन सक्छ।

यति राम्रा हाम्रा सम्पतिहरू अरू विभिन्न देशका मान्छेले अनुशरण गरिसकेका छन्। हामीले भने संस्कृति बुझेकै छैनौं।

माछा, मासु जहाँ पायो त्यहीँ बलि या भोजनका लागि अव्यवस्थित तरिकाले काट्ने गर्दा विभिन्न माहामारी उत्पन्न हुन्छ। संसार आतंकित बनाएको कोभिड–१९ एउटा उदाहरण हुन सक्छ।

केही समयअघि नेपाली कलाकार अन्जु पन्त क्रिस्चियन भइन् भनेर खेदो खनियो। यो उनको अधिकार हो। कानुनमा अधिकार सुरक्षित छ। अभिनेता राजेश हमालले हिन्दू धर्मविरूद्ध बोले भनेर पुत्ला जलाउने जस्ता काम भएका छन्।

राजेशले हिन्दूको विरोध नभएर ज्यादतिको विरोध गरेका थिए। बेलाबेला विभिन्न आवाज आए, रोक्ने प्रयास भए। म एक हिन्दू पूजारी परिवारको छोरो हुँ। मलाई पनि हिन्दू धर्मको माया लाग्छ। यी धारणा हिन्दू अस्तित्व लोप नहोस भनेर सम्मान गर्दै व्यक्त गरिएको हो। नेपालको जनसंख्याको अधिकांश प्रतिशत हिन्दूकै छ। त्यसपछि बौद्ध, मुस्लिम अनि अरु छन्।

धेरै छन् राम्रा पक्ष

हिन्दू धर्म र संस्कारमा कति धेरै वैज्ञानिक राम्रा पक्षहरू पनि छन्। हामीले चिन्न सकिरहेका छैनौं। मन्दिरमा शंख घण्ट बजाउँदा आवाजको कम्पनबाट कीटाणुहरू टाढा भाग्छन्। ध्यान, पूजा, मन्त्रोच्चारणले सकारात्मक ऊर्जा बृद्धि हुन्छ। काम, क्रोध, लोभ जस्ता दुर्गुणबाट बच्न सकिन्छ। आत्मबल बलियो हुन्छ।

समय समयमा व्रत बस्नाले शरीरमा भएको बिकार बाहिर निस्कन्छ। हरेक बिहान योग गर्न सके शरीरमा स्फूर्ति आउनुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ।

यति राम्रा हाम्रा सम्पतिहरू अरू विभिन्न देशका मान्छेले अनुशरण गरिसकेका छन्। हामीले भने संस्कृति बुझेकै छैनौं।

बुझौं अनि नयाँ पुस्तालाई बुझाऔं। अनावश्यक चलन र संस्कारहरु हटाएर मानव जीवनका लागि उपयोगी हुने कुराहरुको सम्बर्द्धन गरौं। अनि मात्र हाम्रो संस्कार र संस्कृति अजर अमर हुनेछ।

सम्बन्धित खबर

Back to top button