जन सरोकार

राम्रो आचरण भएका र एक वर्षभन्दा बढी कैद भुक्तान बाँकी रहेकाहरुले घरमै बस्न पाउने

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमकबीच विभिन्न अदालतहरुबाट कैद सजाय पाएका १ हजार २ सय कैदी बन्दीले घरमै बाँकी कैद भुक्तानी गर्ने अवसर पाउने भएका छन् । यसका लागि कारागारभित्र चालचलन ठीक रहेका र १ वर्षभन्दा बढी अवधि बाँकी रहेकाले घरमै बाँकी कैद भुक्तान गर्न पाउनेछन् ।

कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरणअनुसार वैकल्पिक कारागारमा बस्न पाउने कैदीको संख्या करिब १ हजार २ सय छ  । विभागका अनुसार अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत र मुद्दाको पुर्पक्षमा भएका कैदी र बन्दी थुनुवाको संख्या करिब २५ हजार छ । त्यसमध्ये अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरतको संख्या १४ हजार ५ सय हाराहारी छ ।

एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेका र राम्रो आचरण भएका कसुरदारलाई प्रोबेसन तथा प्यारोल बोर्डको सिफारिसमा जिल्ला अदालतले घरमा बसेर वा सप्ताहान्तको एक दिन वा राति मात्रै कारागारमा बसेर सजाय भुक्तान गर्न मिल्ने आदेश दिन सक्ने कानुनी व्यवस्था छ ।

सजाय भुक्तानरत कैदीको हिस्सा ५८ प्रतिशत छ । बाँकी ४२ प्रतिशत थुनुवा र मुद्दाको किनारा नलागेका व्यक्ति छन् । थुनुवा र कैदीको चापअनुसार कारागार नहुँदा कोचिएर बस्नुपर्ने बाध्यता छ । निर्माणाधीन कारागारमा पनि समयमै काम सम्पन्न हुन सकेको छैन । नुवाकोटमा करिब ७ हजार क्षमता, बाँकेमा करिब ३ हजार ५ सय क्षमता र बाँकेकै नौबस्तामा खुला कारागार निर्माणाधीन छन् ।

वैकल्पिक कारागारसम्बन्धी कानुनी व्यवस्था तय गर्न महान्यायाधिवक्ता अग्नि खरेलले कानुन व्यवसायी प्रकाशबहादुर केसीको संयोजकत्वमा कारागार व्यवस्थापन विभागका महानिर्देशक पोखरेलसहित महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता, गृह र कानुन मन्त्रालयका प्रतिनिधि सम्मिलित ५ सदस्यीय उपसमिति गएको असोजमै गठन गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.