भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणका सबै कार्यक्रम रद्द गर्न माग
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणका क्रममा हुने सबै औपचारिक कार्यक्रम रद्द गर्न माग गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानीले सम्मान गर्ने कार्यक्रम अनुसार उनले कार्तिक १९ देखि २१ गतेसम्म नेपालको भ्रमण गर्दैछन् ।
मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले एक विज्ञप्ति जारी गरी नरवाणेलाई नेपाल सरकारले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानीले सुशोभित गर्ने जुन निर्णय गरेको छ, त्यो नेपाली जनता , नेपालको संसद् र नेपाली सेनाको वीरतापूर्ण ख्यातिको खुला अपमान हो भन्दै कार्यक्रम रद्द गर्न माग गरेको हो ।
विज्ञप्तिमा भारतले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको जमिन उसको राजनीतिक नक्सामा राखेको र सोही नेपाली भूभागमा चीनको तिब्बत हुँदै मानसरोवर जाने मार्ग जोड्ने सडक निर्माण गरी नेपालको सार्वभौमसत्ता र भूअखण्डतामाथि प्रहार गरेकोमा नेपालमा त्यसको तीव्र विरोध भएको घटनालाई चीनको उक्साहटमा भएको र त्यो भूमि इन्डियाको भएको भनी धम्कीपूर्ण सार्वजनिक अभिव्यक्ति दिएका नरवाणेलाई सम्मानित गर्ने निर्णय खेदजनक भएको जनाइएको छ ।
मोर्चाले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमा चोट पुर्याउने शत्रुको पाउमा नेपालको शिर निहुर्याउने नेपाल सरकारको बाध्यता के हो भन्दै गम्भीर प्रश्न समेत उठाएको छ ।
त्यसै गरी नरवाणेको नेपाल आगमन शङ्कास्पद , आपत्तिजनक र विष्मयकारी भएकाले मोर्चा यो भ्रमण रद्द गर्न र नेपालका प्रधान सेनापति र भारतीय सेनाध्यक्षलाई एकअर्को देशको सेनाको मानार्थ महारथी दर्जा लिनेदिने गलत परम्पराको अन्त्य गरी नेपाली सेनालाई इन्डियाली नेपाली सेना भएको आरोपबाट मुक्त राख्न पनि माग गरिएको छ ।
त्यसै गरी विज्ञप्तिमा सरकारले यसको उपेक्षा गरेमा नरवाणे नेपाल सरकारका मात्रै अतिथि हुने र यसबाट नेपाल सरकार नरवाणेको नेपालको भूअखण्डताविरुद्धको अभिव्यक्तिको समर्थनमा रहेको र लिम्पियाधुरा, कालापानी, लिपुलेकमाथिको दाबीबाट पछि हटेर सरकार स्वयम् राष्ट्रिय अखण्डताविरुद्ध गएको स्पष्ट हुने चेतावनी समेत दिइएको छ ।