नेपाली काँग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने
नेपाली काँग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न शोक प्रस्ताव पारित गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सांसद एवं प्रतिष्ठित उद्योगपति केसीको यही कात्तिक १७ गते राति पोखरा महानगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको होे ।
बैठकले कार्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।
बैठकमा स्व केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्नका लागि एक मिनेट मौनधारण गरिएको थियो । बैठकले उहाँको आत्माको चीर शान्तिको कामनाका गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व केसीले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको थियो । पिता कीर्तिबहादुर र माता पदमकुमारीको ज्येष्ठ सुपुत्रको रुपमा २०१४ जेठ १० गते जन्मनु भएका केसी २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत काँग्रेसका तर्फबाट प्रनिनिधिसभा सदस्य हुनुभएको थियो ।