काठमाडौंलाई गरिखानेको शहर बनाउने हो मागीखानेको हैन : मेयर शाक्य
खुलामञ्चमा अभियानकारीहरुले लामो समयदेखि दैनिक हजारौंलाई खाना खुवाइरहेको कार्य बन्द काठमाडौं महानगरपालिकाले बन्द गर्न निर्देशन दिएपछि यसको व्यापक आलोचना भैरहेका बेला सो कार्यले स्वास्थ्य समस्या आएको भन्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीको स्वस्थ जीवनप्रति संवेदनशील भएको बताउनुभएको छ ।
चौतर्फी आलोचनापछि बुधबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको बताउँदै कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई काठमाडौं महानगरपालिकाले सुरुदेखि नै सहयोग गर्दै आइरहेको पनि मेयर शाक्यले दाबी गर्नुभएको छ ।
लकडाउन अवधिभर काठमाडौं महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने काम गरेको पनि मेयर शाक्यले बताउनुभयो ।
त्यसै गरी उहाँले लकडाउन अवधिभर काठमाडौं महानगरपालिकाले १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाएको दावी गर्दै कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भए आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको मेयर शाक्यले दावी गर्नुभयो ।
त्यस्तै काठमाडौंलाई गरिखानेहरुको सहरका रुपमा चिनाउनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको बताउँदै मेयर शाक्यले कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभाबी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक सहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्