जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन
पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो ।
भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले मङ्गलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङ पहिरोको अध्ययन गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो ।
“आज केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको पहिरोको अध्ययन गर्ने छौँ”, उहाँले भन्नुभयो, “विपद्बाट क्षति पुगेका बस्तीमा थप जोखिमको पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा प्राधिकरणले भूगर्भविद्को टोली पठाएको हो ।”
भौगर्भिक अध्ययन प्रतिवेदनको सुझावका आधारमा पुनर्निर्माणको काम अघि बढाइने उपाध्यक्ष आचार्यले बताउनुभयो । टोलीले क्षति भएका, जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण, ढुङ्गा, माटोको नमूना र ड्रोन क्यामेराको तस्बिरसहित श्रव्यदृश्य सङ्कलनका साथै प्रभावितसँग छलफल गरेको छ ।
गत असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण जलजलामा ३१६ घरमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
एक सय २६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुग्नुका साथै १४० घर जोखिममा रहेका प्रारम्भिक विवरण सङ्कलन भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
उहाँका बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ, बस्ती संरक्षणका लागि निर्माण भएका पूर्वाधारमा अकल्पनीय क्षति भएको छ ।
अध्यक्ष आचार्यका अनुसार सबैभन्दा बढी कालीगण्डकीको जलजला गाउँपालिका-८ फर्सेमा ७५ घर बगाएको र २७ घर जोखिममा छन् । बाढी प्रभावितमध्ये अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसकेकालाई अस्थायी शिविर बनाएर राखिएको छ ।
फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन् । वडा नं ४ को लामाखेतमा पनि कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ ।
अध्यक्ष आचार्यले पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका बताउनुभयो । प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो । (रासस)




प्रतिक्रिया राख्नुहोस्