संक्रमितको निधनपछि अस्पतालको पैसा तिर्न नसक्दाको तनाव…

सरकारले कोरोना संक्रमितको उपचार पनि नगर्ने र मृत्यु भएपश्चात् शव व्यवस्थापन पनि नगर्ने निर्णय गरेपछि संक्रमित भएर उपचारका क्रममा निधन भएकाहरुको शव उठ्न पनि सकस भएको छ भने पैसा नभएकै कारण तीन दिनसम्म अस्पतालबाट शव उठाउन पाएनन् ।
विराटनगर महानगरपालिका ३ का एक परिवारलाई । विराट टिचिङ अस्पतालमा ६५ वर्षीय वृद्धको मृत्युपछि अस्पतालको बिल तिर्न नसकेर उनको शव तीतदिन देखि अस्पतालमै रह्यो । अस्पतालले पैसा नतिरेसम्म शव लैजान नदिने अडान राखेपछि परिवारमा ठूलो सकस उत्पन्न भयो ।
उनी ९ दिनअघि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । उपचार खर्च ५ लाख ८६ हजार पुगेको थियो । शनिबार मृत्यु भएपछि उनको शव ३ दिनसम्म उठ्न सकेन । मृतककी छोरीका अनुसार अस्पतालमा भएको खर्च तिर्न नसकेपछि तीन दिनसम्म शव उठाउन सकिएको थिएन ।
मृतककी छोरीका अनुसार रात्रीबस चलाउने उनी पछि निजी विद्यालयमा काम गर्थे । कोरोना संक्रमणकै कारण विद्यालय पनि बन्द भएपछि दशैं मुखैमा आएकाले बुवालाई खर्च जुटाउने चिन्ता थियो । उनीसँग दशैंको खर्च भनेर जम्माजम्मी छ(सात हजार गोजीमा थियो । यसैबाट जेनतेन दशैं टार्ने परिवारले सोचेका थिए तर टार्नै नसक्ने समस्याबाट गुज्रनु पर्यो । दसैंअघि उनलाई ज्वरोले च्याप्यो। ३ दिनसम्म ज्वरो नघटेपछि अस्पतालमा कोरोना टेस्ट गर्दा पोजेटिभ आयो ।
डाक्टरले आत्तिनुपर्ने अवस्था नभएको बताएपछि उनी औषधी खाँदै घरमै बसे । तर कात्तिक ५ गते राति १२ बजे उनलाई सास फेर्न गाह्रो भयो । एक्कासि छटपटिए, छोराछोरीले अस्पताल लैजान चारैतिर फोन गरे । एक जना आफन्त पर्ने दाइले विराट टिचिङमा कुरा गरिदिएछन्। आइतबार बिहान ९ बजेतिर तामाङलाई अस्पताल पुर्याइयो ।
एक लाख धरौटी नराखी उपचार नहुने भन्दै दबाब आयो । तर धरौटी राख्ने पैसा उनीहरूसँग थिएन । अस्पताल पुग्दा उनीहरूसँग भएको ७ हजार र सरसापट गरेर लगेको जम्मा २५ हजार रुपैयाँ थियो । त्यही धरौटी राखेर बाँकी जम्मा गर्ने भन्दै बुवालाई भेन्टिलेटरमा राखे । औषधी किन्ने पैसा थिएन । खेपैपिच्छे २ झोला औषधी मगाउँथे । एक पटकमा १९ हजारसम्मको औषधी किनेर भित्र पठाएकी छु । बुवाको अवस्था सोध्दा बिस्तारै ठिक हुँदै गएको बताउँथे, उनले भनिन् ।
अस्पताल भर्ना गरेको ६/७ दिन भैसक्दासम्म बुवा बेडमा बेहोस लडेको देख्दा उठ्नुहुन्न कि भन्ने डरले उनीहरूलाई सतायो । आखिर भयो पनि त्यही ।
अस्पतालभित्रको मात्रै ५ लाख ८५ हजार नौ सय, बाहिरको फार्मेसीमा १५ हजार र भित्रकोमा ३३ हजार ६ सय भएको थियो । तत्काल कुनै पनि हालतमा यो सबै बिल भुक्तानी गर्ने अवस्था उनीहरूको थिएन । तर पैसा नतिरी शव लिन पाइँदैन भने अनि हामीले बुवाको शव अस्पतालमै छोडेर घर गयौं । भोलिपल्ट अस्पतालबाट फोन आयो पैसा छिटो ल्याओ लास लैजाओ ।
अस्पतालले उपचारमा लागेको खर्चमा केही छुट दिएर बाँकी रहेको ३ लाख ८४ हजार ९ सय ३५ रुपैयाँ नबुझाएसम्म शव नदिने कुरो फेरि सुनायो। उनले त्यसपछि वडा कार्यालय सम्झिइन् ।
वडाले अस्पतालसँग कुरा गर्दा पनि वडाको सिफारिस अनुसार १ लाख अझै छुट लिन सकिने, तर बाँकी पैसा नतिरी नहुने बतायो । दोस्रो दिन पनि शव निकाल्न सकिएन ।
कात्तिक १७ गते सोमबार वडाका केही मान्छे अस्पताल पुगे । लामो छलफलपछि फार्मेसीको पैसा बुझाउनु पर्ने तर धरौटी फिर्ता नहुने, बाँकी उपचार खर्च मिनाहा गर्दिने सहमति भयो ।बल्ल हामीले बुवाको शव पायौं।