अर्थ

टर्की र पाकिस्तानसंग द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

नेपाल उद्योग परिसंघले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि सहकार्य बढाउनु पर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लाग्नु भएका नेपाली राजदूतसँग आग्रह गरेको छ । बिहिबार आयोजना गरिएको अन्तरक्रियामा पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीसँग परिसंघले सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

राजदूत अधिकारिसँगको अन्तक्र्रियामा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले भन्नुभयो, “नेपाल उद्योग परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिँदै आएको छ । देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धनका लागि आर्थिक कुटनीतिमा विभिन्न देशमा रहेका नेपाली दुतावासहरुसँग परिसंघले संवाद तथा सहकार्यलाई सुदृढ गर्न प्रयासरत छ ।”

मित्रराष्ट्र पाकिस्तानसँगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न त्यहाँको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध सुदृढ गर्न राजदुतावासको थप सक्रियता आवश्यक रहेकाले यसमा नवनियुक्त राजदूतहरुले भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि वरिष्ठ उपाध्यक्ष अग्रवालले विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच रहेको हार्दिकतापूर्ण सम्बन्धको उपयोग गरेर द्विपक्षिय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउने कामलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । नेपालले पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ति प्रणालीका उपायहरुबारे थप अध्ययन तथा काम थाल्नु पर्ने राजदूत अधिकारीको भनाइ थियो ।

राजदुत अधिकारीले द्विपक्षीय आर्थिक तथा पर्यटन प्रर्वद्धनका संयन्त्रलाई पुनः सक्रिय बनाउनेतर्फ पनि पहल गर्ने विश्वास दिलाउनु भयो । यसैगरी टर्कीलाई पनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउनेतर्फ ध्यान दिनुपर्ने पनि राजदूत अधिकारीले बताउनुभयो । सो अवसरमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले आर्थिक कुटनीतिको माध्यमद्वारा द्विपक्षीय व्यापार विस्तारमा दुतावास थप सक्रिय हुने विश्वास लिएको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button