राजनीति

कोही पनि नेता पार्टी विभाजनको पक्षमा छैनन् भने किन यत्रो रडाको ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एकले अकोलाई शक्ति देखाउने होडमा आमने सामने गरिरहेका छन् । अध्यक्ष प्रचण्डले सचिवालय बैठक नै आव्हान गरिदिएपछि विभाजनको निकट पुगेको निष्कर्ष दुबै अध्यक्षको छ ।

यसबीचमा पार्टीभित्रको गुट र फुटको अन्त्यका लागि सुरुदेखि नै लागिपरेका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले दुई दिनकोबीचमा दुई दर्जन नेताहरुलाई भेट्नुभयो । ती नेताहरुसंगको भेटपछि उहाँको निष्कर्ष थियो पार्टी विभाजनको पक्षमा कोही छैनन् ।

महासचिव पौडेलको यस्तो निष्कर्ष रहे पनि पार्टी विभाजनको संघारमै पुगिसकेको छ । कोही पनि नेता विभाजन चाहँद्रैनन् भने विवाद किन ? यो प्रश्नको उत्तर भने कसैसंग छैन ।

लामो समयदेखि दुई अध्यक्षबीचको विवाद साम्य पार्न पार्टीले कार्यदल नै बनाएको थियो । सो कार्यदलका एक सदस्य पौडेल अहिलेको विवाद बढ्नुमा कार्यदलले दिएको सुझाव कार्यान्वयन नहुनु रहेको बताउनुहुन्छ । पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री ओली हावी भएको, मनलाग्दो गरेको भन्दै उहाँलाई प्रधानमन्त्रीबाट हुत्याउने सुरमा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरु लागिपरिरहेका छन् ।

शुक्रबार अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयको बैठक आव्हानन गरे पनि सो बैठकमा तीनजना सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल पनि सहभागी भएनन् । सचिवालयका नौजनामध्ये पाँच नेता प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठमात्र सहभागी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग औपचारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निष्कर्ष निकाल्यो ।

सो बैठकमा बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीले सचिवालयको औपचारिक बैठक राखे पार्टी फुटको घोषणा मान्ने चेतावनी दिएका कारण सो बैठकमा लिखिन निर्णय केही पनि भएन र त्यसलाई औपचारिक मानिएन । गुटको भेलालाई पार्टी बैठक बताएको भन्दै प्रधानमन्त्री ओली तथा उहाँ निकटहरु भने अर्को गुटसंग संवाद नै नगर्ने गरी चिढिएको छ । उता अध्यक्ष प्रचण्ड आफ्ना निकटहरुसंग “अब बालुवाटार नछिर्ने” निष्कर्षमा पुगेको बताइरहेका छन् ।

संचार माध्यमहरुमा कोही पनि नेता पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै आइरहेका छन् । यदि यस्तै हो भने गुटबन्दी केका लागि ? अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्षबाटै राजीनामा दिए पार्टी एक हुने हो वा के हो ? नेकपाका आम कार्यकर्ताहरु पूर्णतः विभाजिन मानसिकतामा रहेका छन् ।

सामाजिक संजालहरुमा पूर्व एमाले र केपी गुटकाहरु माधवकुमार नेपाल र प्रचण्डको खेदो खन्ने अनि पूर्व माओवादीमा रहेका र माधव गुटकाहरु प्रचण्ड र माधव नेपालको खेदो खन्ने काम गरिरहेका छन् । दुबै पक्षका नेताहरुले आफू पक्षधरलाई त्यस्तो नगर्न आव्हान समेत गरेका छैनन् । “अब यसरी अघि बढ्न सकिन्न” भन्ने निष्कर्षमा रहेका नेताहरुले विभाजन नचाहेको भए चाहेको के हो ? आम कार्यकर्ताको प्रश्न यस्तै छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.