अर्थ

रोल्पामा रहेको सुन लगायत एक दर्जन खानी उत्खननको सुरसार छैन

– उमा के.सी.



खनिज पदार्थले धनी रोल्पामा सुनलगायत दर्जनौं प्रकारका खनिज पदार्थ रहेको सम्भावनाको बारेमा सधैँ चर्चा गर्ने गरिन्छ । तर पनि बहुमूल्य यस्ता खनिज पदार्थको उत्खननमा भने कसैको ध्यान जान सकेको छैन । जिल्लाका विभिन्न स्थानमा खनिज पदार्थ रहेको सूचना जिल्ला समन्वय समितिको प्रकाशनमा वर्षौँदेखि आइरहेको छ । तर पनि यी खनिज पदार्थबाट लाभ लिने त परै जाओस् उत्खनन गर्नेतिर पनि कसैको ध्यान जान सकेको छैन । यसबाट जिल्लावासी लाभान्वित हुनसक्ने बताइए पनि त्यो सम्भावना अझै पाइएको छैन ।

यस जिल्लाका करिब दुई दर्जन ठाउँमा खनिज रहेको जिससले गरेका प्रकाशनमा देखिएको भए पनि अहिलेसम्म तीमध्ये एउटा पनि उत्खनन गरिएको तथ्याङ्क छैन । नेपालका खनिज खानीमै सीमित हुनुमा प्राविधिक जनशक्तिको अभाव र यसका लागि आवश्यक बजेट रकमको अभाव प्रमुख कारक तत्वको रूपमा रहँदै आएको देखिन्छ ।

भू–गर्भविद्का अनुसार जिल्लाको लुंग्री र फगाम खोलाको क्षेत्रमा प्राकृतिक रूपमा चटानी भागमा नै सुन रहेको छ । खानी विज्ञका अनुसार रोल्पामा लुंग्री खोला आसपास २५ किलोमिटर लम्बाई र ५ किलोमिटर चौडाई क्षेत्रमा केही वर्ष अघि सुन रहेको विषयमा अर्ध विस्तृत अध्ययन गरिएको थियो । अध्ययनको क्रममा बढीमा चार ग्राम र कम्तीमा साढे एक ग्राम प्रतिटन सुनको लपसा भेटिएको बताइएको थियो । त्यसयता भने जिल्लामा सुनको अध्ययन, अनुसन्धान नै भएको छैन ।

जिल्लामा सुन उत्खननका लागि खानी विभागको तर्फबाट अहिलेसम्म केही पहल हुन नसकेको स्थानीयको भनाई छ । लुंग्री खोलामा सुन उत्खनन गर्ने हो भने सफलता मिल्ने स्थानीय जानकारहरू वताउँछन् । तर खानी विभागको तर्फबाट सुन उत्खननका लागि अहिलेसम्म ठोस पहल भएको भने देखिँदैन ।

सुनछहरी गाउँपालिकाका अध्यक्ष आशवहादुर पुनमगरले पूर्वी रोल्पाको स्युरीस्थित सुन छहरी झरनाबाट मानिसले बालुवा चालेर वर्षेनी सुन भेटाउने गरेको बताउनुभयो । पुनले भन्नुभयो ‘‘पहिले त उनीहरूले धेरै नै सुन भेटाउने गरेको बताउँथे तर अहिले मत्रा थोरै छ भन्छन् । पछिल्लो समयमा बालुवामा चालेर सुन भेटाउनेहरूको सङ्ख्या बढ्दै गएको छ, त्यसैले पनि यहाँ सुनाको अध्ययन हुनुपर्ने देखिन्छ ।

प्रयोगमा आएको फलाम खानी पनि बन्द

जिल्लामा सुन मात्र होइन, तामा, फलाम, कोइला, चुन, सीसालगायतका खनिज पदार्थको खानी पनि रहेको जिल्ला समन्वय समिति र स्थानीय तहको प्रकाशनमा देखिन्छ । जिससका अनुसार जेल्बाङ र पाछाबाङमा फलाम खानी रहेको छ । युएसएआइडिले गरेको एक अध्ययनमा जनाइएअनुसार सन् १९७० को दशकमा जेल्बाङमा जमिन कोपेर निकाल्ने फलाम खानी तीब्र रूपमा घट्दै गयो । तत्कालीन समयमा जेल्बाङ फलाम खानीको लागि मुख्य केन्द्र मानिन्थ्यो । प्रतिवेदनमा जनाइएअनुसार स्थानियले करिब छ मिटर गहिरो हातैले खनेर बनाइएका बीस ओटा फलाम खानीहरूबाट फलाम निकाल्ने गर्दथे । जङ्गलमा पाइने बलिया काठबाट कोइला बनाई फलाम पगाल्ने गरिन्थ्यो ।

स्थानीय दलित समुदायका मानिसले फलामबाट बञ्चरो, कोदालो, हलोको फाली बनाएर छिमेकमा बिक्री गर्दथे । पछि फलाम पगाल्नलाई कोइलाको अभाव हुन थाल्यो । भारतबाट आयात गरिएका फलामका वस्तु र स्थानीय स्तरमै उत्पादन गरिएका फलामका वस्तुबीच प्रतिस्पर्धा हुन थाल्यो । आयातित बस्तुले बजार लिँदै गएपछि जेल्बाङको फलाम खानी सन् १९७७ तिर स्थानीयकै सहमतिमा बन्द गरिएको वताइन्छ ।

जिल्लाका करिब दुई दर्जनभन्दा बढी स्थानमा भएका खनिजको उत्खननको लागि कुनै ठोस कार्य भएको छैन । हरेक वर्ष जिल्लामा औपचारिकताका लागि सहभागितामूलक समावेशी योजना तर्जुमा प्रक्रियाको औपचारिकता पुरा गरिन्छ । तर योजना तर्जुमा प्रक्रियामा पनि खनिज उत्खननको योजना समावेश भएर आएको भने कुनै वर्ष पनि पाइँदैन । तर उक्त योजना तर्जुमाका लागि स्थानीयले सुझाव दिँदा भने हरेक पटक स्थानीयले यहाँ रहेका विभिन्न खनिजको उत्खनन् गर्नुपर्ने सुझाव दिने गरेका छन् । खनिज पदार्थको खोजी र अनुसन्धान हुन नसक्नुको पछाडि किन यस्तो वेवास्ता भइरहेको छ भन्ने बारेमा जवाफ भने कसैले दिँदैन । स्थानीय नागरिकमा चेतनाको अभावका कारण यसप्रति बेवास्ता हुदै आएको बताइन्छ ।

सम्भाव्यता अध्ययन तथा उत्खनन गर्नकै लागि पनि प्रशस्त पूँजी र दक्ष जनशक्तिको आवश्कता पर्ने भएकोले निजी क्षेत्रले पनि लगानीका लागि सजिलै आँट गर्न नसकेको समाजसेवी दयाराम डागीले भन्नुभयो । खनिज उत्खननमा देखिएको यो समस्या अहिलेकै स्थितिमा रहने हो भने अझै वर्षौसम्म पनि कुनै प्रगति हुन नसक्ने देखिन्छ ।

रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दका अनुसार निजी क्षेत्रलाई खनिज उत्खननको लागि जिम्मा दिन पनि प्रशस्तै नीतिगत र व्यवहारिक चुनौती छन् । ती चुनौतीलाई हटाउनका लागि राज्यले नीतिगत तहमै गर्नुपर्ने काम अझै धेरै रहेको स्थानीय जानकारहरू बताउने गर्दछन् । अध्यक्ष चन्दले गुनासो गर्नुभभयो ‘‘खनिज राज्यकै प्राथमिकतामा कम पर्ने गरेको देखिन्छ । उत्खननका लागि पनि धेरै पूँजी चाहिन्छ । दक्ष जनशक्तिको आवश्यकता पनि उत्तिकै जरुरी देखिन्छ ।’’

सुनछहरी गाउँपालिका स्यूरीका हर्क घर्तीका अनुसार एक दशक अघि खनिज अनुसन्धानका लागि एक चिनियाँ टोली सेरमको फुलिवनमा आएको थियो । काठमाडौँस्थित ठेकेदारको सम्पर्कमा रोल्पा आएको टोलीले करिब दुई साता पूर्वी रोल्पाका विभिन्न स्थानमा खनिजको सम्भाव्यता अध्ययन ग¥यो । सरकारी अनुमति विना अध्ययन गरी रहेका टोलीलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप समेत भएको स्थानीय घर्तीले बताउनुभयो । उहाँका अनुसार सुन खोज्न आएका चिनियाँ टोली र स्थानीयबीच भाषाको सहजीकरण एक नेपालीले गरिरहेका थिए । प्रहरी सोधखोजका लागि फुलिवन पुग्दा भाषा सहजीरकण गर्ने नेपाली त्यहाँ थिएनन् । भाषाकै कारण चिनियाँ टोली, स्थानीय र प्रहरी बीच झडपको स्थिति सिर्जना भएको थियो ।

चिनियाँ नागरिकले भाषा नबुझेपछि प्रहरी र स्थानीयलाई एकहोरो आक्रमण गर्ने गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि चिनियाँ टोली अध्ययन नै नगरी फर्केको थियो । स्थानीयले संयमता नअपनाएको भए स्थिति नियन्त्रणभन्दा बाहिर जाने अवस्था भएको घर्तीले वताउनुभयो । पछि उनीहरू को थिए र कसरी यहाँ आएका थिए भन्ने बारेमा पनि स्थानीयलाई कुनै जानकारी गराइएन ।

खनिज रहेका भनिएका सम्भाव्य स्थान

खानी उत्खनन्का दृष्टिले जिल्लाका विभिन्न ठाउँमा प्रशस्त सम्भावनाहरू छन् । सुनछहरी झरना, लुङ्री, गामखोला र फगाम खोलाको शिरमा सुन रहेको सम्भावना देखिन्छ । तामाखानी उत्खनन्का लागि धबाङ, जङ्कोट, आरुवा तालाबाङ र हार्जङमा सम्भावना देखिएको पाइन्छ । कोइला खानी उत्खनन्का लागि खुमेल, मसिना, डुब्रिङ, झेनाम, दुबिडाँडा र हार्जङ सम्भावित क्षेत्र हुन् । फलाम खानी उत्खनन्का लागि जेलबाङ, गाम, इरिबाङ, पाछाबाङ र राङ्कोट चर्चामा छन् ।

स्लेट खानी उत्खनन्का लागि लिबाङ, धबाङ, खुमेल, सिर्प, नाफे खोला इरिबाङ र बडाचौर प्रख्यात छन् । चाँखे ढुङ्गा जङ्कोट, ह्वामा र जैमाकसलामा पाइन्छ । मार्वलका लागि माडी गाउँपालिकाअन्तर्गत पर्ने ओत र कोर्चाबाङलाई सम्भावित मानिएको छ । त्यस्तै चुन खानीका लागि धबाङ, दुबिडाँडा, डुब्रिङ, झेनाम, बुढागाउँ र सिसाखानी उत्खननका लागि करेटी र भाबाङलाई सम्भावनाको क्षेत्र मानिन्छ ।

दुई लाख चौविस हजार भन्दा वढी जनसङ्ख्या भएको रोल्पामा ५० हजारभन्दा बढी युवा रोजगारीका लागि भारत तथा तेश्रो मुलुक गएको वताइन्छ । जिल्लाका यी खानी उत्खनन गर्न सकिएमा ती युवा जनशक्तिलाई स्वेदेशमै रोजगारी दिन सकिन्थ्यो । वेरोजगारीका कारण रोल्पावाट हजारौँ युवा भारत तथा तेश्रो मुलुक जाने गरेका छन् । विदेशमा जोखिमपूर्ण काम गर्न वाध्य युवाहरूलाई स्वदेशमै रोजगारीका लागि सरकार गम्भीर बन्न सके युवा पलायन रोक्न सकिने नागरिक समाजका अध्यक्ष घनश्याम आचार्यको भनाई छ । यसबाट स्थानीय स्तरमा युवाको रोजगारी तथा जिल्लाबासीलाई मात्र फाइदा पुग्ने नभएर राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो परिवर्तन ल्याउन सक्ने देखिन्छ ।

सम्बन्धित खबर

Back to top button