अर्थ

छठअघि उखुको भुक्तानी नदिए मिल सञ्चालकलाई पक्राउ गरिने

आन्दोलनरत उखु किसानले आफूहरुले पाउनुपर्ने भुक्तानी नदिए छठपछि आन्दोलन गर्ने चेतावनी दिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने जनाउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आइतबार उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेशकुमार मिश्रको अगुवाइको टोलीले मन्त्री भट्टलाई भेट गरी स्मरणपत्र बुझाइएको थियो । किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानका सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिनुभयो ।

मन्त्री भट्टले भन्नुभयो,“उखु किसानको भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्न गृह मन्त्रालयमा परिपत्र गरिनेछ, जुन मिल बन्द भइसकेको छ, उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं ।”

छठ पर्वभन्दा अघि किसानको सम्पूर्ण रकम भुक्तानी नभए आगामी मङ्सिर २७ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई आन्दोलन गर्ने समितिको चेतावनी थियो ।

सम्बन्धित खबर

Back to top button