देशभर २ हजार ५ सय ७१ जना थपिंदा काठमाडौं उपत्यकामा १ हजार ४ सय २८
सोमबार देशभर २ हजार ५ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँ उपत्यकामा मात्र १ हजार ४ सय २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित पुष्टि हुनेमा ६३० महिला र ७९८ पुरुष रहेका छन् । काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर सोमबार संक्रमित पुष्टि हुनेमा २ हजार ५ सय ७१ रहेका छन् ।
मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट १५ लाख ५१ हजार २ सय ५४ परीक्षण भएका छन् । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना छन् भने ९ सय ६७ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्