विश्व समाचार

बाइडेनको पहिलो निर्णय एक करोडभन्दा बढी कागजपत्रविहिनलाई नागरिकता दिइने

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यारम्भ गरे लगत्तै पहिलो कामका रुपमा १ करोडभन्दा बढी कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने बिल सदनमा पठाउने योजना बनाएका छन् । यसबाट त्यहाँ रहेका नेपालीहरुलाई पनि फाइदा हुनेछ ।

बाइडेन अभियानका अधिकारीका अनुशार कागजपत्रविहिनलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने बिल संसदको तल्लो सदन प्रतिनिधिसभामा पहिले पेश गरिनेछ प्रतिनिधिसभामा डेमोक्र्याट्सहरुको बहुमत आउने उच्च सम्भावना रहेको छ । तर सिनेटमा भने डेमोक्र्याट्सको बहुमत आउने सम्भावना त्यती देखिन्न ।

सिनेटमा बहुमत कायम गर्न सकेमा पनि थोरै संख्यामा भए पनि रिपब्लिकन सिनेटरहरुमा बिलमा पक्षमा ल्याउन सकेमा भने बिल पारित हुने सम्भावना पनि रहनेछ । बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण गर्न प्रदान गरिएको डाका कार्यक्रमलाई पनि बिलले समेट्नेछ । डाका र टीपीएसमा रहेकालाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिलको मर्म हो ।

डाका कार्यक्रम तत्कालिन राष्ट्रपति बराक ओबामाले सुरु गरेका हुन् । त्यतीबेला जो बाइडेन उपराष्ट्रपति रहेका थिए । डाकाले झण्डै साढे ६ लाख बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गरेको छ । जसमा नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् । टीपीएसबाहक नेपालीहरु भने झण्डै ९ हजारको हाराहारीमा रहेका छन् ।
ट्रम्प प्रशासनले डाका कार्यक्रम अन्त्य गर्न चाहे पनि सर्बोच्च अदालतले प्रकृया नपुगेको भन्दै तत्काल अन्त्य हुनबाट रोकेको थियो । बाइडेन प्रशासनले टीपीएसले समेटेका झण्डै ४ लाखलाई पनि सम्बोधन गर्ने योजना बनाएको छ ।

त्यसै गरी पदभार सम्हालेकै पहिलो दिन बाइडेनले ट्रम्पबाट जारी यात्रा प्रतिबन्धहरु खारेज गर्ने योजना बनाएका छन् । ट्रम्पले यात्रा प्रतिबन्ध लगाएका १३ देशहरुमा अधिकांश मुस्लिम बाहुल्य रहेका देशहरु छन् । सन् २०१७ मा कार्यभार सम्हाल्न बित्तिकै ट्रम्पले यात्रा प्रतिबन्धको घोषणा गरेका थिए ।

त्यस्तै ट्रम्पले कोरोनाको महामारीको कारण देखाउँदै आप्रवासीहरुलाई ग्रिनकार्डमा अमेरिका आउनमा समेत डिसेम्बरको अन्त्यसम्म रोक लगाएका छन् । यो रोक ट्रम्पले थप्नसक्ने सम्भावना पनि रहेको छ । तर बाइडेनले कार्यभार सम्हालेपछि यो रोकलाई खारेज गर्ने योजनामा छन् । रोक खारेज भएमा डिभी, रोजगार वा परिवारमा आधारित ग्रिनकार्डमा अमेरिका आउनमा समस्या हुनेछैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.