राजनीति

सत्तारूढ नेकपाभित्र अन्त्यहीन खिचलो- अस्थिरता सिर्जनाको प्रायोजित कसरत !

सत्तारूढ नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र दुई नम्बर अध्यक्ष क.प्रचण्डबीच चर्किदैगएको कलह, निष्कर्षविहीन संवादको टुट्दैगएको शृङ्खला र तल्लो तहमा उत्रिएर जाली–महाजाली, फटाहा–महाफटाहा, षडयन्त्रकारी–महाषडयन्त्रकारी जस्ता आरोप प्रत्यारोपको प्रवाह जस्ता अनपेक्षित घटना सन्दर्भले निकट भविष्यमै अस्थिरता र अन्योल सिर्जना हुने गरी राजनीतिक दुर्घटना हुनसक्ने आशंका बढ्दैगएको छ ।

पार्टी सचिवालयका पाँच नेता क.प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले संयुक्त लिखत पेश गरी पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिको बैठकका निम्ति राखेको प्रस्तावलाई ती बैठक गरेका खण्डमा पार्टी नै विभाजित हुने दावी गर्दै ठाडै इन्कार गरेपछि ओली विरोधी मोर्चाका सामु नयाँ चुनौती खडा भएको छ । प्रधानमन्त्री ओलीले पूर्व एमालेका नेताहरूलाई मोर्चाबद्ध गरेर प्रचण्डको राजनीतिक हैसियत कमजोर बनाउने प्रयासको थालनी गरे पनि माधव नेपाल समूह त्यसबाट प्रभावित छैन ।

अध्यक्ष ओलीले एकातिर माधव नेपाललाई नेतृत्वका लागि अगाडि बढ्न भनी नयाँ पाशा फ्याक्नुभएको छ भने अर्कातिर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने विचार प्रक्षेपण गरेर क. प्रचण्डको महत्वाकांक्षामाथि तातो पानी खन्याइदिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको परोक्ष सहयोग लिएर उपाध्यक्ष वामदेव गौतमको सहयोगको याचना गरिएको भए पनि ‘अपमान र धोका’को पूर्वअनुभव कोट्याएर उहाँले असहमति जनाएको पनि खुलाशा भएको छ । अध्यक्ष ओलीले आफ्नो सेतै फुलेको जुँगा उपचारपछि कालो हुनथालेको भन्दै राजनीतिक कुस्तीका लागि आफू तयार रहेको जनाउ दिएर क.प्रचण्ड र विरोधी मोर्चालाई जो सकेको गर्न लल्कार गर्नुभएको छ । पार्टी एकता जोगाउने उहाँको रणनीतिक सूत्रबारे पनि उहाँले केही बताउनुभएको छैन । उहाँको जब्बरपनाले विरोधी मोर्चालाई किं कर्तव्य बिमुढको अवस्थामा पुर्याएको छ ।

सत्ता राजनीतिभित्र अहिले जुन आँधीबेरी चलेको छ त्यसले नेपालको राजनीतिक भविष्य कुन नियतिको शिकार बन्ने हो भन्ने वारे अनेक शंका उपशंका जन्मिनथालेका छन् । मुलुकले ऐतिहासिक संविधानसभाबाट जनप्रतिनिधि निर्मित संविधान पाएको र राजनीतिक स्थायित्वको प्रत्याभूतिका साथै विकास र समृद्धिको नयाँ आधार खडा भएको भ्रमको पर्दा क्रमिक रूपमा उघ्रिँदै जानलागेको छ । राष्ट्रिय राजमार्ग विनाको बाह्य प्रभाव निर्देशित राजनीतिक परिवर्तन र त्यसले अवलम्बन गरेको कार्यदिशाले देश र जनताको भलो गर्न नसक्ने मात्रै होइन अन्तरकलह, बिग्रह र अस्थिरतामुखी प्रवृत्तिलाई मात्र मलजल गर्ने अवस्थाको सिर्जना गर्ने वास्तविकताबोध सत्तारूढ दलभित्र र प्रमुख प्रतिपक्षी दलभित्र देखिँदैगएका नयाँ नयाँ परिदृश्यले खुलस्त रूपमा गराइरहेका छन् ।

सत्तारूढ नेकपा फुटको संघारमा पुगेको कुरा सो दलका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंको कथन छ । तीन वर्ष अगाडि आमनिर्वाचनको पूर्वसन्ध्यामा चुनावी गठबन्धन गरेर एउटै घोषणापत्र लिएर संयुक्त उमेदवारी दिँदै राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना बाँडेर दुई तिहाइ नजिकको लोकप्रिय मत प्राप्त गरेपछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा गरिएको भए पनि सत्ता–शक्ति संघर्ष मौलाएका कारण एकता प्रक्रियाले पूर्णता प्राप्त नगर्दै विखण्डन र विभाजनको पहलमानी कसरतले अनपेक्षित गति लिएको छ । एक ज्यान दुई टाउको जीवले एक मुखबाट अमृत र अर्को मुखबाट बीष पिउँदाको अवस्थामा आउने नतिजाको पर्खाइमात्र अहिले छ ।

पार्टी एकता कायम भए मात्र आफ्नो राजनीतिक भविष्य जोगिने मानसिकतामा रहेका पूर्व एमाले र पूर्व माओवादीका दोस्रो पंक्तिका नेताहरू बुढा नेताहरूको सत्ता–शक्तिमोह र व्यक्तित्वको टकरावबाट उत्पन्न विखण्डनकारी परिस्थितिबाट पार्टीलाई जोगाउन आन्तरिक कसरतमा लागेका छन् । पार्टीभित्र वैचारिक बहसमा सक्रिय हुँदैआएका हालका कृषिमन्त्री घनश्याम भुसाल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल लगायतका केही नेताहरू पूर्व पार्टीको समूहगत धारणाको सान्दर्भिकता नै समाप्त भएको आभास दिँदै पार्टी एकता जोगाउने बाटो पहिल्याउनका लागि आन्तरिक छलफलमा जुटेका छन् ।

पार्टी विभाजन गरेर अलग्गिएको खण्डमा क. प्रचण्डले पूर्व माओवादी धेरै नेता–कार्यकर्ताको साथ नपाउने प्रचूर संकेत पनि मिलिरहेकाले ओलीलाई गलाउन नसकेको अर्थ लाग्दैछ । उता प्रचण्डको अगुवाइमा पार्टी फुटाउन अथवा आफैं नेतृत्व लिन पनि माधव नेपाल तयार नभएको पनि उत्तिकै सत्य छ । हामी विदा लिन्छौं नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं भन्ने मानसिकता पनि मोर्चाबद्ध नेताहरूमा पलाएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.