कर्पोरेट/पर्यटन

कतारका राजकुमारको टोली पुग्यो अमादब्लमको चुचुरोमा

हिमाल आरोहण गर्न जाँदै कतारका राजकुमारसहितको टोली

कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८ सय १४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गर्नुभएको छ । राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले बुधबार बिहान ११ः२० बजे आमादब्लमको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका प्रमुखसमेत रहनुभएकी निर्देशक मीरा आचार्यले शेख मोहम्मदसहितको टोलीले अमादब्लमको आरोहण गरेको पुष्टि गर्नुभयो । यससँगै अमादब्लम हिमालमा अटम सिजनको पहिलो आरोहण भएको पनि उहाँले उल्लेख गर्नुभयो । उक्त आरोहणको व्यवस्थापन हिमालयन गाइड्सले गरेको हो । राजकुमारसहितको आरोही टोलीमा छ आरोही सदस्य थिए । यसमा केही अमेरिकी र क्यानेडियन आरोही पनि सहभागी थिए ।

विभागलाई अमादब्ल्म हिमालमा खटिएका सम्पर्क अधिकृतले जनाएअनुसार छ विदेशी र सात जना नेपालीले सफल आरोहण गरेको बताइएको छ । यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।

विभागको पछिल्लो विवरणअनुसार अटम सिजनको आरोहणका लागि हालसम्म सात आरोही दललाई आरोहण अनुमति प्रदान गरिएको छ । आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रोयल्टी सङ्कलन भएको छ । यो याममा आरोहण अनुमति लिएका हिमालमा मनास्लुमा दुई, अमादब्लम दुई तथा बरुत्सेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.