राजनीति

भारतीय रक्षामन्त्रीसंग के कुरा भयो प्रधानसेनापति शर्माको

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह र बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्करसँग बिहिबार अपराह्न बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ ।

नयाँदिल्लीस्थित बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल–भारत सम्बन्धका विविध विषयका साथै पारस्परिक हित र चासोका मुद्दामा विचार विमर्श भएको थियो ।

“नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । उहाँको यो भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई प्रस्ट्याउँछ”, बाह्य मामिलामन्त्रीले ट्विट गर्नुभएको छ ।

त्यसैगरी रक्षामन्त्रीसँगको भेटमा नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ÷प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण, संयुक्तरूपमा विपद् व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि आजै द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच सुरक्षासम्बन्धी साझा चासोका विषयमा विचार आदान प्रदान भएको जनाइएको छ ।

यसैबीच, नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत उहाँलाई ‘वाल अफ अनर’बाट विभूषित गरेको छ । उक्त सम्मान पाउने शर्मा पहिलो व्यक्ति हुनुहुन्छ । सन् २०१३ मा प्रधानसेनापति शर्माले उक्त कलेजबाट प्रतिरक्षा तालिम गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.