राजनीति

सांसद बस्नेतको दावी : कोरोना महामारीबीच स्वास्थ्य क्षेत्रमा गुणात्मक फड्को

संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोभिड–१९ को महामारीबीच नेपालको स्वास्थ्य क्षेत्रमा गुणात्मक फड्को मारेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भक्तपुरमा आयोजना गरेको कोभिड–१९ ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिका विषयक छलफल कार्यक्रममा उहाँले सो दावी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “कोभिड–१९ ले हाम्रो देशको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको छ, भक्तपुर अस्पताल, थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आइसियू, भेन्टिलेटरदेखि रोबर्ट नर्ससमेत व्यबस्था गरेको छ, जगातीमा सूर्यविनायक नगरपालिकाले अस्पताल बनाउँदैछौँ, सरकारले देशको कुना–कुनाका अस्पताल र स्वास्थ्य क्षेत्रमा आईसियूदेखि आवश्यक प्रविधि र सेवा विस्तार भएको छ, त्यो सकारात्मक पक्ष हो ।”

उहाँले आलोचनात्मक दृष्टिकोणलाई त्यागेर रचनात्मक सञ्चार जगातीको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले पत्रकार र सञ्चार क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएर अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका कावा अध्यक्ष जयराम थापाले देशको विपत्तिमा गैससको भूमिका महत्वपूर्ण रहेको औल्याउनुभयो । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलेको समस्यामा शिक्षकको भूमिका गौण भएको र उनीहरुको भूमिका शून्य भएको बताउनुभयो । त्यसअवसरमा नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष रबिन्द्र प्रधानले कोभिडसँग भागेर भन्दा पनि स्वास्थ्य सचेतना अपनाएर सबै क्षेत्र खुल्दै जानुपर्नेमा जोड दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका महिला विकास अधिकृत निला घिमिरेले कोभिड–१९ ले कतिपयलाई छाक टार्नलाई समस्या परेको बताउँदै मनोसामाजिक परामर्श अत्यावश्यक रहेको भनाइ राख्नुभयो । इन्सेक वाग्मती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले कोरोनाले शिक्षा, स्वास्थ्य, खाद्य र विकासमा पारेका असरका बारेमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका प्रभावकारी हुने बताउनुभयो ।
सभापति एवं इन्सेक वाग्मती प्रदेशका संयोजक कृष्ण गौतमले नागरिक समाज एकिकृत ढंगले लाग्नु पर्नेमा जोड दिँदै कोरोनाले शिक्षा, विकास, स्वास्थ्य र हिंसालाई निकै प्रभाव पारेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.