जन सरोकार

बैतडी बस दुर्घटना अपडेट : नौजना मृतकमध्ये चार जनाको सनाखत

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये चार जनाको सनाखत भएको छ । दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये आठ जनाको शव निकाल्न सकिए पनि एकजना बसमुनि च्यापिएकोले अझै निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस बिहीबार राति १०ः २५ बजे बैतडीको पाटन नगरपालिका–८, खोड्पे बजार नजिक दुर्घटनामा परेको हो ।

बस सडकबाट छसय मिटर तल भीरमा खसेको छ । बस टुक्रा टुक्रा भएको छ। बसमा करिब ५०जना सवार थिए । अहिलेसम्म जम्मा ४३ जनाको मात्र विवरण प्राप्त भएको छ । घाईतेहरुको राति नै उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको छ ।

सनाखत भएकाहरमा बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो ।

मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ऐरको शव बसले च्यापिएकाले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । अन्य पाँच मृतकको पहिचान हुन सकेको छैन । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

उक्त दुर्घटनामा परी घाइते भएका ३४ मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.