अर्थ

मौलिक उत्पादन ढाकाको बजार विस्तारमा व्यवसायी

नेपालमा मात्र हैन विदेशमा पनि निकै महत्व दिइने पाल्पाली ढाकाको कपडा असाध्यै प्रसिद्ध रहेको छ । पछिल्ला दिनमा विभिन्न सङ्घसंस्थाले ढाका कपडाको महत्व दर्शाउँदै त्यसको व्यवसायिकताको प्रवद्र्धन गरेका छन् । ढाका देशकै महत्वपूर्ण र मौलिक उत्पादन पनि हो ।

यसै क्रममा ढाका कपडा र यसबाट बनेका वस्तुहरूको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले त्यसका व्यवसायीको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी सङ्घको संयुक्त आयोजनामा आगामी पुस २ देखि ४ गते काठमाडौँको बानेश्वरमा प्रदर्शनी एवं सम्मेलनको आयोजना गरिएको छ ।

महासङ्घको पहलमा ढाका उद्यमी व्यवसायीहरूको छाता संस्थाका रूपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी सङ्घको केन्द्रीय तदर्थ समितिलाई व्यवस्थितरुपले अगाडि बढाइने भएको छ ।

परापूर्वकालदेखि चलिआएको परम्परागत उद्योग व्यवसायमध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पूँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित रहेको महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिनुभयो ।

ढाका उद्योग व्यवसाय जुनसुकै स्थानमा पनि सजिलैसँग सञ्चालन गर्न सकिने भन्दै सङ्घले देशको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म सबै ग्रामीण, अर्धसहरी तथा सहरी क्षेत्रमा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि पनि उत्पादन र प्रयोग हुँदै आएको छ ।

यसबाट ग्रामीण क्षेत्रमा स्वरोजगार तथा रोजगार एवं आय वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ भने अर्कोतिर अन्य मुलुकमा समेत निर्यात भएको छ ।

महासङ्घका अनुसार ढाकाको कपडा अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका देशमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पुर्याउँदै आएको छ । आयातित कपडालाई प्रतिस्थापन गर्नसमेत ढाकाको कपडाले सहयोग पुर्याउँदै आएको महासङ्घको भनाइ छ ।

देशकै यस्तो महत्वपूर्ण मौलिक उत्पादनका खास गरेर तीनवटा महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पहिलो स्वदेशी वजारमा व्यापकता प्रदान गर्दैै विदेशबाट आयात हुने कपडाको मात्रा न्यूनीकरणमा सहयोग पुर्याउनु, दोस्रो स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नु, ढाका वस्तु उत्पादन गरी बजारीकरण र त्यसको निकासीबाट उद्यमी तथा राष्ट्रलाई हुने लाभ तथा नेपाली मौलिक उत्पादनको विश्वबजारमा प्रचारप्रसार र पहिचान एवं प्रवद्र्धन हुन गई फेशन उद्योगमा परम्परागत र नवीन वस्तुका रूपमा स्थापित हुनु हो ।”

ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था रहेको सङ्घको भनाइ छ । हाल हस्तकलाका अन्य सामानजस्तै सुती कपडाअन्तर्गत ढाकाका माल–सामान निर्यात भइरहेका छन । देशभर पाँच हजारभन्दा बढी व्यवसायी रहेका छन् भने एक लाखभन्दा बढीलाई रोजगारी सिर्जना गरेको महासङ्घको बुझाइ छ ।

नेपाल ढाका कपडा उद्योगी व्यवसायी सङ्घका अध्यक्ष रमेश श्रेष्ठका अनुसार हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप, शैलीमा मात्र प्रयोग भइरहेकामा पछिल्ला दिनमा यसका उत्पादन पनि बजारको माग तथा बद्लिँदो परिवेशअनुसार विविधिकरण भएको छ । व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायमा देखापरेका समस्या तथा समाधानका उपायको पहिचान गर्ने सङ्घको तयारी छ । ढाका बुन्न प्रयोग हुने सूती धागोमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन नहुने सङ्घको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.