कर्पोरेट/पर्यटन

कतारका राजकुमार भन्छन- ‘नेपाल संसारकै सुन्दर देश’

कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले नेपाल विश्वकै सुन्दर देश भएकाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्य सत्कारबाट आफू प्रभावित रहेको जनाउँदै नेपाल फेरि पनि नेपाल आउने चाहना प्रकट गर्नुभएको छ ।

काठमाडौंमा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लाग्नुभएका कतारका राजकुमारसहितको टोलीलाई बधाई तथा सम्मान गर्न आयोजित कार्यक्रममा उहाँले सो धारणा राख्नुएका हो ।

कार्यक्रममा मन्त्री भट्टराईले कोभिड–महामारीबीच राजकुमार अब्दुल्लाले हिमाल आरोहण गरी नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाउनुभएकामा कृतज्ञता व्यक्त गर्दै राजकुमारसहितको आरोही टोलीलाई मायाको चिनो प्रदान गरी बधाई गर्नुभयो ।

उहाँले पर्यटकीय गतिविधि क्रमशः चलायमान हुँदै गएकाले अब छिट्टै नेपालको पर्यटन पुरानै लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भट्टराईले भन्नुभयो,“दुई विशिष्ट व्यक्तिको हिमाल आरोहणले नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । यो असाध्यै खुशीको कुरा हो । अब विस्तारै नेपालको पर्यटन पुरानै लयमा फर्किँदैछ, त्यसैले विदेशी पाहुनालाई स्वास्थ्य मापदण्ड पालना गरी नेपाल भ्रमणमा आउन आग्रह गर्दछु ।”

राजकुमारसहित १३ सदस्यीय टोलीले यही कात्तिक २६ गते बिहान ११ः२० बजे ६ हजार ८१४ मीटर अग्लो अमादब्लमको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । उक्त आरोहण अमादब्लम हिमालमा शरद् ऋतुको पहिलो थियो ।

राजकुमारसहितको आरोही टोलीमा ६ आरोही सदस्य थिए । त्यसमा केही अमेरिकी र क्यानडाली पनि सहभागी थिए । उक्त आरोहणमा म्यारेट मेडिसिनको नेतृत्वमा ६ विदेशी र आठ नेपाली सहभागी थिए ।

सन् २००९ देखि नेपाल आउन थाल्नुभएका राजकुमार अब्दुल्लाको यो आठौँ भ्रमण हो । सन् २०१३ मा सगरमाथा आरोहण गर्नुभएका उहाँ तीन पटक सो हिमालको आधार शिविर पुग्नुभएको थियो । नेपालका अन्य पर्यटकीय गन्तव्यको स्वाद लिनुभएका अब्दुल्ला आइतबार स्वदेश फर्कने जनाइएको छ ।

यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोली आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.