कर्पोरेट/पर्यटन

पर्यटकीयस्थल खोपारा–खयर जोड्ने पदमार्ग निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारा र खयर भारानी ताल जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन गरेको रु १० लाख बजेटबाट पाउद्वारदेखि खोपारा हुँदै खयर जाने बाटामा अप्ठ्यारो ठाउँ पहिचान गरी पदमार्ग निर्माण गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष राकेश पुर्जाले लरेनीमा १५०, डेरीबासमा १००, दोबाटोमा १५०, खोपारामा २० र चिन्नेखर्कमा ४०० मिटर गरी कुल ८२० मिटर पदमार्गका साथै खोपारामा भल व्यवस्थापनका लागि नाली र तीन ग्याबियन पर्खाल निर्माण गरिएकोे बताउनुभयो । “गाउँका बेरोजगार युवालाई परिचालन गरेर पदमार्ग बनाएका हौँ”, उहाँले भन्नुभयो, “बस्तीदेखि टाढा पदमार्ग निर्माण गर्नका लागि डेढ महिना कार्यक्षेत्रमै क्याम्प बनाएर बस्यौँ ।”

दैनिक २० देखि २५ युवालाई प्रतिव्यक्ति रु एक हजार ज्याला दिएर पदमार्ग निर्माणमा परिचालन गरिएको थियो । समूहसमूह बनाएर युवालाई काममा लगाइएकाले विकाससँगै रोजगारी र आयआर्जनको अवसर पाएको उपभोक्ता समितिका सचिव सविता तिलिजाले बताउनुभयो ।

समुद्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोपारा लेक हिमाल, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहन दृष्य अवलोकनका साथै प्राकृतिक र जैविक विविधताका हिसाबले महत्वपूर्ण छ । खोपारादेखि एक दिनको पैदलयात्रापछि बराह शिखर हिमालको फेदीमा रहेको खयरभारानी तालको दर्शन र पूजाआजा गरेमा मनले चिताएको पूरा हुने जनविश्वास भएकाले धार्मिक पर्यटनको सम्भावना छ ।

पाउद्वार गाउँका बासिन्दाले आफन्तका नाममा खोपारा र खयरभारानी जाने बाटामा पदमार्ग, चौतारी, धर्मशाला बनाउँदै आएकामा यस वर्ष गाउँपालिकाले पहिलो पटक बजेट विनियोजन गरेको कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत पर्ने शिखको बयली, ढाडखर्क हुँदै खोपरा जोड्ने अर्को पदमार्ग निर्माणका लागि समेत गाउँपालिकाले यसै वर्ष रु १० लाख बजेट विनियोजन गरेको छ ।

भिरालो र साँघुरो बाटामा आवतजावतमा असहज हुनाका साथै चिप्लिएर लड्ने तथा बाटो बिराएर दुःख पाउने समस्या थियो । खोपारा र खयरभारानी क्षेत्रको पर्यटन विकासमा समुदाय र गाउँपालिकाले पूर्वाधार निर्माण तथा प्रबद्र्धनलाई निरन्तरता दिने वडा सदस्य धनबहादुर पाइजाले बताउनुभयो ।
स्थान विवादले अस्पताल बनाउने योजना अन्योलमा
स्थान विवादका कारण म्याग्दीको रघुगङ्गामा पालिकास्तरीय अस्पताल निर्माण गर्ने योजना अन्यौलमा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो ।

गाउँपालिका र बेगका वासिन्दाबीच उत्पन्न स्थान विवादले अस्पताल बनाउने योजना कार्यान्वयनमा अन्योल भएको छ । कात्तिक २० गतेको कार्यपालिका बैठकले पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले मौवाफाँटमा १० शैय्याको अस्पताल बनाउने निर्णय गरेको थियो ।

बेगका जनप्रतिनिधि, राजनीतिकर्मी, अगुवाले बेगमै अस्पताल बनाउनुपर्ने मागसहित निर्णय सच्चाउन गाउँपालिकालाई कात्तिक २७ गते ज्ञापनपत्र बुझाएका थिए । कार्यपालिका निर्णयप्रति फरक मत राख्दै आउनुभएका बेगका वडाध्यक्ष बिलप्रसाद फगामीले ठाउँ नै तोकेर आएको योजना अन्यत्र लैजान नहुने बताउनुभयो ।

रु १० करोडभन्दा बढी लागत अनुमान गरिएको अस्पतालको भवन बनाउन मन्त्रालयले चालु आर्थिक वर्षमा रु ८३ लाख बजेट पठाएको छ । मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारिसकेको गाउँपालिकाले जनाएको छ । सबै वडाका बासिन्दालाई पायक पर्ने र केन्द्रसमेत भएकाले मौवाफाँटमा अस्पताल बनाउन सहमतिमा निर्णय गरी ठाउँ सार्नका लागि मन्त्रालयमा सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बेग स्वास्थ्य चौकीको भवन पुनःनिर्माण गर्न एक करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । ठेक्का लागिसकेको भवन वडा–७ चिमखोला अथवा झिँमध्ये कुनै एक ठाउँमा लैजान बेगवासीले प्रस्ताव गरेका छन् ।

बेगमा अस्पताल बनेमा छिमेकी भगवतीका केही बस्तीबाहेक अन्य वडाका बासिन्दालाई सेवा लिन अपायक पर्ने गाउँपालिकाका पदाधीकारीको भनाइ छ । “बेगमा अस्पताल बनाउनेनै हो भने आठ दिनभित्र जग्गा धनीपुर्जा लिएर आउने सर्तमा स्वास्थ्य चौकीको भवन चिमखोला वा झिँमा बनाउन सहमति दिनुहोस् भन्ने विकल्पमा सहमति जनाएको हो,” अध्यक्ष भण्डारीले भन्नुभयो ।

गाउँपालिकाले यसअघि बेगको बादुकमा सामुदायिक स्वास्थ्य एकाइ र तिप्ल्याङमा आयुर्वेद स्वास्थ्य केन्द्रको गाउँघर क्लिनिक स्थापना गरेको छ । मन्त्रालयले पाँचदेखि १५ शैय्याको अस्पताल बनाउन रघुगङ्गाको बेग, धवलागिरीको ताकम, मङ्गलाको अर्मन र अन्नपूर्णको दोवा स्वास्थ्य चौकीलाई छनोट गरेको थियो ।

मैदान निर्माण भएको १५ वर्षपछि प्रयोगमा

सदरमुकाम बेनीमा १५ वर्षअघि निर्माण भएको बहुउद्देश्यीय मैदान अहिले प्रयोगमा आएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घले २०६२ सालमा म्याग्दी नदीको किनारमा निर्माण गरेको बहुउद्देश्यीय मैदानमा बेनी नगरपालिकाले पार्किङस्थल बनाएर प्रयोगमा ल्याएको हो ।

बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले प्रयोगबिहीन अवस्थामा रहेको मैदानलाई मर्मत, घेराबार र पूर्वाधार तयार गरेर पार्किङस्थल बनाइएको जानकारी दिनुभयो । बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा र बेनी–बागलुङलगायत म्याग्दीको पश्चिमी क्षेत्रमा चल्ने बस, जिप र ट्याक्सी पार्किङका लागि स्थान बनाइएको हो ।

पो पार्किङस्थल सञ्चालन भएपछि सडकमै यात्रुबाहक सवारी साधन पार्किङ गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ । हाल बेनी नगरपालिका, हाडेभिर, बेनी सामुदायिक मावी र बजारका सडकमा अव्यवस्थितरुपमा पार्किङ गरिंदा दुर्घटनाको जोखिम र ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

सबै पूर्वाधार तयार भएको पार्किङस्थल मङ्सिर ५ गतेदेखि सञ्चालन गरिने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । “मैदानलाई ग्राबेल गरेर सम्माउनुका साथै खानेपानी, सार्वजनिक शौचालय, दुई ठाउँमा सिसिटिभी क्यामेरा जडान र बत्ती जडान भएको छ,” उहाँले भन्नुभयो “यातायात व्यवसायीका टिकट काउन्टरलाई सारेर त्यहीँबाट गाडी छुटाउँछाँै ।”

मैदानको डिलतर्फ नगरपालिकाले रु। १४ लाख खर्चेर पर्खाल र तारजाली लगाएको छ । यस वर्ष पार्किङस्थलको पूर्वाधार बनाउन थप रु पाँच लाख ५० हजार खर्च भएको छ ।

विसं २०६२ मा उद्योग वाणिज्य सङ्घको अगुवाइमा म्याग्दी नदी किनारको पाखो र बगरलाई सम्याएर मैदान बनाएका थिए । करिब २०० मिटर लम्बाई र ५० मिटर चौडाइ भएको मैदानमा १०० वटा सवारी साधन पार्किङ गर्न सकिने यातायात व्यवसायीले बताएका छन् ।

प्रहरी नायब उपरिक्षक किरणजङ्ग कुँवरले पार्किङस्थल सञ्चालनमा आएपछि बजारभित्रको ट्राफिक व्यवस्थापन र आवतजावत सहज हुने बताउनुभयो । नगरपालिका र प्रहरी कार्यालयले सहकार्य गरेर बेनी बजारमा गत भदौ महिनादेखि लागू गरिएको एकतर्फी पाकिङ प्रभावकारी बनेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.