प्रधानमन्त्री ओली अनुपस्थित भए पनि नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने
फुटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक पूर्व निर्धारित मिति अनुसार भोलि बुधबार बहुमत सदस्यको उपस्थितिमा भए पनि बस्ने भएको छ । प्रधानमन्त्री ओली पक्षले बैठक केही दिन सार्न अनुरोध गरे पनि अध्यक्ष प्रचण्डले सो कुरा अस्वीकार गरेको समाचार छ ।
मंगलबार चार पाँच दिन बैठक सार्ने प्रधानमन्त्री ओलीको प्रस्ताव लिएर अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेल प्रचण्डको निवास जानु भए पनि अध्यक्ष प्रचण्डले सो प्रस्ताव अस्वीकार गर्नुभएको बताइएको छ ।
प्रचण्ड निकट एक नेताका अनुसार अध्यक्ष प्रचण्डले बैठक सार्ने भए पनि सचिवालयकै बैठकमा छलफल गरेर सार्न सकिन्छ । अहिलेलाई यसअघि तय भएको मितिमै बैठक गरौं भनेर प्रचण्डले जवाफ दिनुभएको छ ।
उता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयले नै भोलि बैठकको मिति तोकेकाले सचिवालयले नै परिवर्तन नगरेसम्म बैठक यताउता नहुने बताउनुभएको छ । प्रधानमन्त्री ओली पक्षधर नेताहरू भने बैठकलाई जसरी पनि सार्ने पक्षमा छन् । बैठक सार्न प्रचण्ड सहमत नभए के गर्ने भन्नेबारे प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूसँग छलफलसमेत गर्नुभएको छ ।
गत शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा राजनीतिक प्रतिवेदन पेश गरेको भन्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली आक्रोशित हुनुहुन्छ । ओली खेमाका नेताहरूले सार्वजनिक रूपमै प्रचण्डले आफ्नो प्रतिवेदन फिर्ता लिनुपर्ने बताइरहेका छन् । उता ओलीको विपक्षमा रहेका नेताहरु भने प्रचण्डले पेश गरेको प्रतिवेदन कुनै पनि हालतमा फिर्ता नहुने बताइरहेका छन् ।
प्रचण्डले पेश गरेको प्रतिवेदनमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत समर्थन छ । प्रचण्डले प्रतिवेदन पेश गरेपछि पार्टी अप्ठ्यारो मोडमा पुगेको प्रधानमन्त्री ओली पक्षधरको ठहर छ ।