बिचार

चोलेन्द्र श.राणा विरुद्ध वेञ्च–बारको द्वन्द्व र निकास

हिजो अस्तितिरका कतिपय न्यायाधीशहरुले न्यायालयहरुलाई “इन्साफ, निशाफ पाउने पवित्र मन्दिर” बनाउने प्रयास गरे । आज पनि त्यस्ता न्यायाधीश नभए नदेखिए, नसुनिएका होइनन् । प्रतिशतमा ठ्याक्कै भन्न कसैले पनि नसक्ला । कसैले लेख्यो भन्यो भने पनि त्यो मनगढन्ते नै हुनेछ । त्यस सम्बन्धमा विचौलिया वा कालाकोट भिरेर इजलासमा कम र उनका घर भान्छामा बढी वहस गरी मुद्दाको खेलो गर्नेहरुलाई नै बरु बढी थाहा हुनसक्छ । तर आफ्नो पेसा व्यवसाय नै त्यही विचौलिया वृत्ति वा दलाल प्रवृत्ति नै भएको वा बनाएकाहरुले त्यसबारे मरे पनि मुख खोल्दैनन् ।

त्यसैले न्याय मन्दिरलाई को कस्ले साँच्चिकै दूधको दूध पानीको पानी गरी इन्शाफ दिन्छन्, कस्ले त्यही न्याय मन्दिरलाई फैसलाको कालोबजारमा दलाल र कालाकोटेलाई कमिशन दिई गुप्त एजेण्ट वनाइरहेछन् ? सडक र चिया पसलहरुमा दुनियाले त्यही प्रश्न सुनिन्छ । रक्सी पसलदेखि ठूला होटलमा हुने गरिने “भ्रष्टाचार निवारण र सुशासन सम्बन्धी गोष्टी सभा सम्मेलनमा” जति सुकै चर्काे कुरा र तथ्यांक पेश गरेपनि “इदमित्थम्” यकीन सूचना भने आउन सके जस्तो लाग्दैन ।

जेहोस्, यसबेला अनाथ र नावालिगवाट भर्खर वयस्क भएर वावुवाजेले जोडेको र साहुकारले छोडेको छालामा आफ्नो स्वामित कायम गरी फिर्ता पाउँ भनी न्याय निशाफ माग्दा माग्दै पाकेका र थाकेका सेवाग्राहीहरुले “भ्रष्ट न्यायाधीशका एजेण्ट” माने, ठानेका र भनेका कालाकोटधारी मित्रहरुले सर्वाेच्च अदालतका प्रधान न्यायाधीशलाई राजीनामा दिन जुुन दवाव दिँदैछन्, त्यो देखेर उनी (सेवाग्राही)हरु भने खित्का छोडेर हाँस्दैछन् । त्यस्मा सर्वाेच्च अदालतकै सबैजसो न्यायमूर्तिका पगरीधारीहरुले तिनै न्यायमूर्तिको दलाली गर्नेलाई किन साथ दिइरहेछन् ? त्यसले बग्रेल्ती प्रश्न जन्माइरहेका रहेछन् त्यस्ता दशकौ मात्र नभई पुस्तौ न्याय खोज्दा खोज्दै मरेकाका सन्तान्का मन मथिङ्गल भित्र ।

बग्रेल्ती प्रश्नको मूल वा बेलो र मेलो खोज्दै र खोतल्दै जाँदा थाहा भयो– चोलेन्द्रले आफूलाई विधि, विधान पद्धतिको व्याख्याता मात्रै नभई स्वयं संविधान, ऐन, कानूनका निर्माता, ज्ञाता र एकाधिकार प्राप्त विक्रेता ठानिरहेका रहेछन् । त्यो देखेर उनका मातहतका जिल्ला तहसम्मका सबैले आफूलाई नै चोलेन्द्र ठान्दा रहेछन् । त्यसैले होला, आज सबै सरोकारवालादेखि सडक र यिनै सबका लहैलहैमा लागेकाहरुले चोलेन्द्रको राजीनामाको “स्याल हुइय्याँ” मच्चाइरहेका ।

तर न्यायशास्त्रदेखि देशको संविधानका प्रावधान र प्रयोगका परिदृश्यलाई नियाल्दै अहिले चोलेन्द्र शमशेर विरुद्धको आन्दोलनसम्मलाई जति गहिराइमा पुगेर हेर्ने, पढ्ने र आफ्नो वुद्धि–विवेकले भ्याएसम्म विश्लेषण गर्ने कोशिस गर्छु, त्यतिनै अन्यौल र अस्पष्ट भएको पाउँछु । के न्यायालयबाट स्वतन्त्र, निष्पक्ष र न्याय निशाफको एकाधिकार प्राप्त विक्रेता चोलेन्द्र मात्रै हुन् ? चोलेन्द्रले आजसम्म के के गरे त्यो सब थाहा नपाएको भए पनि जेजति सार्वजनिक भए तिनैलाई बटुलेर हेर्दा पनि उनले राजीनामा दिनु हुँदैन, पर्दैन भन्ने कारण वा आधार छैन ।

संवैधानिक संकट गहिरिँदै जाँदा, राजनीतिक वातावरणलाई राजनीतिक पेशा व्यवसायीहरुले दिन प्रतिदिन प्रदूषित गर्दै, गर्दा उनीहरुबीचको द्वन्द्व चरम विद्वेष र वैरको रुपमा बढ्दै जाँदा, “उनले राज्य शासन सत्तानियन्तादेखि त्यसका अंशियार वन्न खोजे, त्यो नपाएपछि नाङ्गै भएर सडकमा गई जगहँसाई गर्न तम्सेकाहरुसँग जे जस्तो ब्ल्याकमेल गर्दै सबैतिर हिस्सा लिएर आफुले पाए–लिएको हिस्सा खुलेयाम विक्री गर्नेसम्मका अशोभनीय, अनुचित मात्रै नभई चरम अनैतिक काम गरेको भनेर दुनियाले जसरी भन्यो, त्यही व्यक्ति प्रधान न्यायाधीशको गरिमामय पवित्रतम आसनमा बस्ने कसरी ? त्यसैले अयोग्य र अपवित्र भैसके भन्नैपर्ने भयो ।

त्यति सबै हुँदाहुँदै पनि थप जटिल प्रश्नहरु जसरी उत्तर खोज्दै गुजुल्टिए आएको महसूस हुन्छ ती सबैबाट आफैं अन्योलको गोलचक्रमा फँस्दै गएको बोध गर्नुपर्ने रहेछ । उहीले न्यायका पवित्रतम न्यायमन्दिरका कसले न्यायमूर्तिका चोंगा भिरेर विधि–विधान, प्रमाण, प्रक्रिया, पद्धतिमाथि विभत्स बलात्कारको उपक्रमको थालनी गरेका थिए, त्यस्को प्रारम्भ विन्दू यकिनसाथ देखाउनसक्ने त सायद कोही नहोला । तथापि भ्रष्टाचार, अनियमितता, विचौलियाको विगविगीको उपक्रम न चोलेन्द्रले शुरु गरेका हुन्, न उनको वहिर्गमनले त्यस्ता प्रवृत्ति, विकृति, विसंगतिको इतिश्री हुने हो । यत्ति हो “चोलेन्द्रले जति खुल्लमखुला रुपमा न्यायमन्दिरको मूल पूजारीको पदीय दायित्व र प्रतिष्ठाको प्रयोग र उपयोग गर्दै राज्यका राजनीतिक दलदेखि कार्यपालिका, विधायिका प्रमुखहरुसँग लाप्पा खेल्दै, ब्ल्याकमेल गर्दै गरेको सार्वजनिक गर्ने प्रथम महापुरुषको रुपमा भने सायद चोलेन्द्रकै नाम निर्विवाद लेखियो देखियो” भनेर लेख्दा भन्दा फरक नपर्ला !

यसै सन्दर्भमा अनेकन अवोध्य विषय र अन्यौलकाबीच आज वार एशोसिएशनसँगै सर्वाेच्च अदालतका न्यायाधीशहरुले चोलेन्द्रलाई राजीनामा दिन जुन दवाव दिइरहेछन्, त्यसको जवाफमा चोलेन्द्रले “संवैधानिक प्रक्रियाबाट जसरी आएँ त्यसरी मात्र जान्छु, हटाउन सक्छौ भने त्यसरी नै हटाऊ, नत्र सम्मानजनक निकास (ग्रेसफुल एक्जिट) को अर्काे बाटो देखाउ” भनेर जुन चुनौति दिइरहेछन् त्यसको जवाफ उनीहरु (बेञ्च बार) सँग के छ ? अर्काे कुरा, के चोलेन्द्रसँगै उनीपछि सर्वाेच्च अदालतमा अर्का गोपाल पराजुली, दिपक जोशी, चरेसानन्द आउँदैनन्, जन्मिनन् ? ढुक्क हुने आधार वा प्रत्याभूति दिने वार कि वेञ्च वहिष्कार गरिबस्ने सर्वाेच्चका बाँकी न्याय मूर्तिहरुले

अराजकतावादी चलखेल

नारामा आफूलाई नै प्रगति र अग्रगामीका एक मात्र अग्रदूत भन्ने देखाउने, व्यवहारमा जसरी महारानी राज्यलक्ष्मीलाई मुठ्ठीमा पारेर कोतपर्व र भण्डारखाल पर्वजस्ता रक्तपापूर्ण आतंक मच्चाएर जंगबहादुरले तीन दशकसम्म स्वच्छन्द, निरंकुश, तानाशाही व्यवस्था चलाए, आफ्नै अधिवंशवादी शासन प्रणालीको जग राखे । झण्डै त्यस्तै गरी गणतन्त्रकालका राष्ट्रपतिलाई कठपूतली वनाएर निरंकुश, स्वेच्छाचारी, एकल व्यक्तिको हालिमुहाली स्थापित गर्न तीन वर्षभित्रै जननिर्वाचित सार्वभौम प्रतिनिधि सभालाई पटकपटक भंग गर्ने, पुनःस्थापित गराए पनि प्रयोजनविहिन, निष्कृय राखी अध्यादेशीय हुकूमी शैलीमा शासन गर्न खोज्ने व्यक्ति र उनको जमात भनौँ या भाडाका लडाका, भोजने/भजनेहरुले अहिले स्वतन्त्र र निस्पक्ष अदालत भित्रको द्वन्द्वको आगोमा हाँस्यास्पद र वेतुकका तर्क दिएर विघटित प्रतिनिधि सभालाई पुनर्जीवित गर्ने सबै न्यायाधीशले राजीनामा दिनु आउनुपर्छ”, भनिरहेछन् ।

त्यसको स्पष्ट अर्थ वा आशय उनै (चोलेन्द्र) लाई नै टिकाइराख्ने र आफूले हुकूमी शैलीमा शुरु गरेका नियुक्तिलाई निरन्तरता दिने, आफ्ना विपक्षी वैरी साध्ने नै होला । भइरहेको चलखेलबाट त्यस्तै अनुमान भैरहेको छ । स्थिति र परिदृश्य त्यस्तै देखा परिरहेछ । वार र वेञ्च वहिष्कार गर्नेहरुबाट त्यस्तो चलखेल र जालझेलबारे कत्तिको सतर्कता अपनाइएको छ ? त्यो छिटै परिणामले देखाउला । त्यतातिर बढी चर्चा नगरौं । पेट्रोलिमको मूल्य वृद्धि हुँदा दलहरुले आ–आफ्ना विद्यार्थी संगठनहरुलाई उठाएर विरोध गराई कर्मकाण्डी रश्म पूरा गर्ने भन्दा फरक केही भए देखौँला ।

निकाश ?

अहिलेको आन्दोलन “अन्त्यहीन आन्दोलन” नै होइन । अहिलेको आन्दोलन भ्रष्टाचार, विचौलियातन्त्र, कमिशनको गोलचक्कर खडा गर्ने मिसन र शासन प्रशासनको परिसीमाभित्रबाट न्यायिक क्षेत्रभित्र पुगेर हुर्के, बढे, बढाइएको माफियाको तिव्र दवावका प्रतिनिधि–पात्र भनौं वा प्रतीक चोलेन्द्र केन्द्रित नै देखिन्छ । सम्बन्धित वार वेञ्चले त्यस्ता विकृति र विसंगतिका प्रतिनिधि र प्रतीक पात्रको वहिर्गमन हुनुपर्ने भनी गरेको आन्दोलन जति औचित्यपूर्ण होला, उनले मागे जस्तो सम्मानजनक निकास (ग्रेसफुल एक्जिट)को अवसरको खोजि पनि त्यति नै अनिवार्य होला ।

त्यसका लागि चोलेन्द्रले आफुले आफ्ना पूर्ववर्ती दीपकराज जोशीलाई वाध्य पारेको वाटो अर्थात् “सीमान्त अपमानित र अपहेलित भई सर्वाेच्चभित्र नै टाँसिएर पनि बस्न नपाई नसकी बाध्य भई १/२ महिना विदा वस्ने, त्यसपछि राजीनामा दिने जस्तो भद्र सहमति गरे गराएका थिए । चोलेन्द्र आफूले पनि त्यस्तै गर्नु नै आजको “विन–विन”को सम्मानजनक बाटो हो, त्यसमा विकल्प खोजियो भने त्यो नितान्त फट्याइपूर्ण जालझेल र खेल नै ठहरिने छ । वेञ्च, बार र आमसंचार माध्यमले यतिविधि बेनकाब गरिसक्दा पनि चोलेन्द्रले चोरबाटोबाट छिरेर प्र.न्या.को सिटमा बसिरहने धृष्टता गर्दैरहे उनकै धोती र धरो उतारी उनको मुखमा नकाब लगाइ सडकमा हिंडाएको देख्नुपर्ने पनि हुनसक्ला ।

फेरि पनि प्रश्न उठ्छ, “तर” बाटै । चोलेन्द्र विरुद्ध मात्रै वारले विरोधको पहिलो आन्दोलन गरिरहेको होइन । हिजो गोपाल पराजुली, दिपक जोशीहरुले भ्रष्ट, अनैतिक र सर्वाेच्चका न्यायाधीशको पदीय आचार विपरितका जे जस्ता गलत काम गरे तिनीहरु विरुद्ध पनि आन्दोलन गरेको थियो, भयो । ती आन्दोलनबाट व्यक्तिलाई त फालियो ।

तर, त्यस्तै मात्र नभई झन् परम् भ्रष्ट झन् झन् निर्लज्ज, दुष्ट निकृष्ट र हुँदा हुँदा सर्वाेच्चको परिसीमाभित्रबाट सिंहदरबार र ‘बीआईसीसी’मा पुगेर संसद र सभामुखसँग खुलेयाम ‘ब्ल्याकमेल’ गर्दै आफ्नो हिस्सा माग्ने चोलेन्द्र जस्ता जन्मिए । किन कसरी यस्तो भैरहेछ ? सधैँ यत्र–तत्र व्यक्तिको विरोध भयो, तर विकृति विसंगतिलाई संस्कृतिकै रुपमा संजोएर राख्ने प्रवृत्तिले संस्थागत र सुदृढरुप लिँदै गयो । मूल कारण नै यही हो ।

संस्कृत साहित्यका प्रसिद्ध कवि भारविले लेखेको– “हितं मनोहारी च दुर्लभं वचः”- पढ्ने लेख्ने, घोत्लिने, आत्म समीक्षा गर्ने, राजनीतिक, न्यायिक, प्रशासनिक मात्र नभई देशमा परिवर्तनको लागि अविश्रान्त संंघर्षशीलहरुले आत्मासाक्षी राखेर भन्नैपर्छ “हामीले आफ्ना भावना, इच्छा, आकांक्षा, चाहना, सम्भावनालाई दृष्टिगत गर्दै, व्यक्तिको मात्र घनघोर विरोध गर्ने ग¥यौं । तर “विकृति विसंगतिपूर्ण प्रवृत्ति जरैसम्म उखेलेर फाल्ने प्रयास गरेनौँ । त्यसो गरियो भने भोलिको पुस्ताले “हामीले लोभानी, पापानी गर्दा वा समग्रमा भन्नुपर्दा समाजले स्वीकार्न नसक्ने काम कुरा गर्दा लाठो लिएर हामीलाई पनि लखेट्ला” भन्ने संत्रस्त मनोरोगले वहुतायत सम्बन्धित क्षेत्रका अगुवा नराम्ररी ग्रस्त भयौं ।

जस्को परिणाम आन्दोलन, संघर्ष, क्रान्ति सबै किस्तावन्दीमा भए । र फाल्नुपर्ने ठह¥याइएकासँग सम्झौता गरी गला मिलायौं । सायद यस कुरालाई नबुझेका कोही भएका भए मन परिवर्तन गर्नुहुन पनि सम्भव हुन्थ्यो । तर, बढी बुझेर नै हिसाब किताब गर्दै “नबुझेको वहाना गर्नेलाई कसरी बुझाउने ? सायद वार वेञ्चलाई थप भन्नु लेख्नुपर्ने अरु केही नहोला ? “जान्नेलाई इशारा काफी छ” मात्र भनौं ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.