बिचार

‘अचेल मन बिथोलिएको छ’

देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव लागेको छ, तर रामनरेश यादवलाई तनाव । दिनहुँ हुने चुनावी भेला, भाषण र चहलपहलले गाउँबस्ती गुञ्जायमान छन् तर उहाँको मनमा बेचैनी र उथलपुथल छ । उम्मेदवार, समर्थक र नेता, कार्यकर्ता मतदाता सम्हाल्न व्यस्त छन् तर उहाँकी श्रीमती रानीमती देवी मन सम्हाल्न ।

टोल–टोल र घर–घरमा चुनावी जोडघटाउ चलिरहेको छ तर श्रीनारायण यादवमा भने मनस्थिति खल्बल्याउने गरी विस्मृतिहरू बढिरहेका छन् । सकेसम्म हुलमुल, जमघट र सभा सम्मेलन नदेखे हुन्थ्योजस्तो लाग्ने श्रीनारायणले चुनावी रौनक सुरु भएदेखि नै त्यस्तै चहलपहल देख्नुपरेको छ । यसले विगतका स्मृति र विस्मृतिहरूलाई उप्काएर दिनहुँ बिथोलिरहेको छ ।

ममता चौधरीलाई पनि यस्तै लाग्ने गर्दछ । दुःख घटाउँदै खुसी जोड्ने सपनालाई क्षणभरमै उजाडेको त्यो ठूलो भीड, त्यस्तै भीडहरू देख्दा अहिले पनि यादहरू फर्केर आउने । विसं २०७२ भदौ २५ गते यस्तै थियो, ‘चलु जनकपुर भरु जनकपुर’ भन्दै घर–घरबाट निस्किरहेका मानिस, संविधानमा मधेसी जनताको भावना समेट्न माग गर्दै घन्किरहेका नारा ।

त्यही दिन प्रहरीको गोली लागेर लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलीप यादव, जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका सञ्जय चौधरीले सहादत प्राप्त गरेका थिए । तिनै सहिद दिलीप यादवका बुवाआमा हुनुहुन्छ, रामनरेश यादव र रानीमती देवी । श्रीनारायण यादव सहिद नितु यादवका बुवा र ममता सहिद सञ्जय चौधरीकी बहिनी ।

चुनावी अभियान सुरु भएदेखि नै गाउँघरमा नेताहरूको आगमन बढिरहेको छ । चुनावमा मात्रै फर्किने र गरिने बाचाहरूले यी परिवारलाई फेरि त्यही समयमा फर्काउने गरेको छ, जतिबेला यिनै नेताहरूको आह्वानमा दिलीप, नितु र सञ्जयजस्ता धेरै युवाले ज्यान गुमाएका थिए ।

‘पर लैजाऊ यादहरू’

आन्दोलनमा गएको छोरो, विभत्स दृश्य र चर्का नारा देखे–सुनेकी आमा रानीमतीलाई त्यस्ता भीडहरूले पुरानो पीडालाई ताजा बनाउने रहेछ । “बिहे व्रतबन्धमा जाँदा त मन भक्कानिन्छ, यो त चुनाव हो, चहलपहल बढ्छ, ठुल्ठूलो स्वरमा नारा घन्किन्छन्”, रामनरेशले भन्नुभयो, “छोरोको उमेरका सबै चुनावमा छन्, छोरो बाँचेको भए अरुजस्तै हिँड्थ्यो, चुनावमा लाग्थ्यो । उनीहरूलाई देख्दा छोरोको झल्को आउँछ, सम्हाल्न गाह्रो हुन्छ ।”

पाँचवटा सन्तानमध्ये दिलीप रामनरेशका एक्लो छोरा हुन् । दिलीपको सहादतको बेला उहाँ साउदीमा हुनुहुन्थो । “दिलीप करिब तीन वर्षको थियो । सन्तानको सुन्दर भविष्य बनाउने भनेर विसं २०५९ मा साउदी अरब गएको थिएँ । तर छोराको जिउँदो मुख पनि देख्न पाइनँ । त्यो घटना भएको १३ दिनपछि मात्रै नेपाल आउन पाएँ”, रामनरेशले विगत सम्झिनुभयो ।

“मधेस मुक्तिको लागि छोराले ज्यान गुमाएको हो भनेर आफूलाई सम्हाल्छु तर उनलाई सम्झाउन गाह्रो छ”, छेवैमा आँसु टिलपिलाउँदै गर्नुभएकी श्रीमतीतर्फ हेर्दै उहाँले भन्नुभयो, “यस्तो बेला छोराको याद आइहाल्छ । तर के गर्नु सोचेजस्तो भइरहेको छैन !” आफ्नो आँसु लुकाउँदै एकछिन रोकिएर भन्नुभयो, “जे भनेर छोरालाई ज्यान गुमाउन बाध्य पारिएको थियो, त्यो पूरा भए त हुन्थ्यो नि !”

सहिद नितु यादवका बुवा श्रीनारायण यादव त छोराको कुरा गर्नेबित्तिकै भक्कानिनुहुन्छ । कुराकानीको बेला घर छेवैमा जोड्जोडले मत माग्दै गरेको चुनावी प्रचार सामग्री बजिरहेको थियो, यता श्रीनारायणको आँखामा आँसु छचल्किरहेको थियो । प्रष्ट नेपाली बोल्न नसक्ने उहाँले चुनावको चहलपहलले छोराको याद ताजा बनाएको बताउनुभयो । “यस्तो बेला मन भक्कानिन्छ, सम्हाल्न गाह्रो हुन्छ, ऊ भइदिएको भए यस्तो हुन्नथ्यो”, उहाँले भन्नुभयो ।

सहिद नितुका दाजु रकु यादवले भाइको सहादतसँगै परिवारको खुसी लुटिएको बताउनुभयो । “घरको कान्छो छोरा हो, उसको ज्यान गएदेखि बुबाको मनस्थिति निकै खल्बलिएको छ । आमाको अवस्था यस्तै छ”, रकुले भन्नुभयो, “यस्ता कार्यक्रम (भीडभाड, भाषण, नाराबाजी हुने कार्यक्रम)ले उनको याद दिलाउँछ । झनै समस्या हुन्छ । निको हुन लागेको मनको घाउ बल्झिन्छ ।”

“घरपरिवारलाई सहयोग गर्छु, विदेश जान्छु भनेर भाइले राहदानी बनाइसकेको थियो तर आन्दोलनमा ज्यान गुम्यो । अहिले बुवाआमाको दैनिकी चलाउन पनि निकै मुस्किल छ । म एक्लैको कमाइले पुग्दैन । कतैबाट सहयोग छैन”, रिकुले भन्नुभयो ।

अर्का सहिद सञ्जय चौधरीको बुवाआमासहित १० जनाको परिवार छ । “दाइ गुमाउनुको पीडा मलाई त छ नै, त्यो भन्दा बढी पीडा बुवाआमालाई छ”, बहिनी ममता चौधरीको भनाइ थियो, “के गर्नु, मान्छे फर्केर नआए पनि यादहरू फर्केर आइरहन्छन् । दाइ भएको भए राजनीतिमा धेरै अगाडि बढ्नुहुन्थ्यो । उहाँले जे सपनासहित ज्यान गुमाउनुभएको थियो, त्यो सपना पूरा गर्न म पनि राजनीतिमा लागेको छु ।”

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की केन्द्रीय सदस्यसमेत रहनुभएकी ममता भने सहिदहरूको सपनाअनुसार उपलब्धि हासिल हुनेमा अझै आशावादी हुनुहुन्छ । “अहिले केही अन्योल छ, तथापि सङ्घीयता, समावेशीताजस्ता मुद्दा तथा केही अधिकारहरू पूरा भएका छन्”, उहाँले भन्नुभयो, “अब यी मुद्दाहरूको पूर्ण कार्यान्वयन र बाँकी सपना पूरा गर्न युवाहरू अगाडि बढ्नुपर्छ ।”

आशा र निराशा दुवै छन् । तर गीतकार राजेन्द्र थापाले ‘पर लैजाऊ फूलहरू, छोपीदेऊ तारा जुन, बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चिजहरू’ भनेर लेखेजस्तै नराम्ररी सताउने गरी आउने यादलाई विकास र समृद्धिले प्रतिस्थापन गर्न पाए हुन्थ्यो भन्ने चाहना सहिद परिवारको छ ।

‘पूरा गर बाचाहरू’

बिहीबार, चुनाव प्रचारप्रसारको अन्तिम दिन हो । हरेक पाँच–पाँच वर्षमा यस्ता चुनाव आउने जाने भइरहन्छन् । २०६२÷६३ को जनआन्दोलनपछि हालसम्म संविधानसभा र स्थानीय तहको चुनाव दुई–दुईपटक भइसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकपटक (२०७४) सम्पन्न भई यही मङ्सिर ४ गते दोस्रोपटक हुँदैछ । चुनाव हुने, सरकार बन्ने तर सोचेअनुसार परिणाम नआएकामा सहिद तथा घाइते परिवारको ठूलो गुनासो छ ।

“जब छोराको सालिक देख्छु, सबैले देख्ने र अमर हुने गरी ज्यान दियो भनेर गर्वले छाती चौडा हुन्छ । तर मेरो छोराजस्तै हजारौँ सहिदले देखेको सपना पूरा नभएकामा मन चसक्क दुख्छ”, जाँदाजाँदै रामनरेश यादवले भन्नुभयो, “जे भनेर आन्दोलनमा हाम्रा छोराछोरीको ज्यान गयो । ती बाचा कहिले र कसले पूरा गर्ला ? हिजो जोडिएका दलहरू टुट्दैफुट्दै गएको देख्दा नमज्जा लाग्छ ।”

मताधिकार सार्वभौम नागरिक हुनुको परिचायक हो । त्यसैले थुप्रै गुनासा भए पनि अधिकांश नागरिक चुनावमा उत्साहित हुन्छन् नै । तर मधेसी सहिद प्रतिष्ठानका सदस्य अभियन्ता रामनरेश राय पनि मधेस आन्दोलनका सहिद तथा घाइते परिवारहरू खुसी र उत्साहित हुने अवस्था नरहेको बताउनुहुन्छ ।

उहाँले आन्दोलन भएको वर्षौँ बित्दा पनि सोचेअनुसार उपलब्धि हासिल नभएकाले दिलीप, नितु, सञ्जयलगायत सहिद तथा अन्य घाइते परिवारहरू थप दुःखी भएको उल्लेख गर्नुभयो । “घरबार चलाउन, हातमुख जोड्न पनि धौधौ छ सहिद तथा घाइते परिवारलाई”, रायले भन्नुभयो, “घरको समस्या त छँदैछ, त्योभन्दा बढी मधेस आन्दोलनको मुद्दा र सत्ता राजनीतिका लागि यहाँका दलहरूमा भइरहेको क्षयीकरणले हाम्रो मन दुखिरहेको छ ।” उहाँ २०६३ माघ २१ गते सहादत प्राप्त दिनेश राय यादवको भाइ पनि हो ।

मधेस आन्दोलनकी जानकार राजनीतिकर्मी विभा ठाकुरले पनि मधेस आन्दोलनमा गरेका बाचा मधेसवादी दलहरूको विभाजन र बेमेलसँगै थप कमजोर हुँदै गएकामा सहिद तथा घाइते परिवार चिन्तित रहेको पाएको बताउनुभयो । उहाँले मधेसमात्रै होइन, परिवर्तनका लागि सहादत दिने सहिदहरूको सपना र जनतामाझ गरेका बाचा पूरा गर्ने दायित्व सबैको भएको बताउनुभयो ।

सङ्घीयता र समावेशीताको माग गर्दै २०६३ माघ २ गतेदेखि सुरु भएको २१ दिने मधेस विद्रोहदेखि २०७४ सम्म पटक–पटक भएका मधेस आन्दोलनमा ६३ जनाले सहादत प्राप्त गरेका र ७२ जना घाइते भएको तथ्याङ्क छ । यसमध्ये जनकपुरमा मात्रै सात जना सहिद भएको मधेसी सहिद प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.