नख्खुबाट स्रोत नखुलेको रु एक करोड ६७ लाख नगदसहित तीनजना पक्राउ
ललितपुर महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद रु एक करोड ६७ लाख ३३ हजार २३० सहित तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौँ कोटेश्वर बस्ने भोजपुर नगरपालिका–३ घर भएका ३१ वर्षीय दीपक खड्का र काठमाडौँ बत्तीसपुतली बस्ने काठमाडौँ महानगरपालिका–१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश०१–०२७च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
त्यसै बीच, ललितपुर महानगरपालिका–२९ बस्ने २८ वर्षीय रवीन्द्र मगरातीलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मगरातीलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
रवीन्द्रले पाँच जनाबाट रु चार लाख २० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काटमाडौँ महानगरपालिका–२९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्