कमिल मिशाराको शतकीय पारीमा राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत ‘एलिमिनेटर’ खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजसामू जितको लागि २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनायो । चितवनको लागि मिशराले ५९ बलमा ५ चौका र १० छक्का प्रहर गर्दै १२० रनको अविजित शतकीय पारी खेले भने रवि बोपराले ४२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५३ रनको अर्धशतकीय पारी खेले ।
मिशारा र बोपाराले तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरे । जारी सिजनमा यो दोस्रो शतक हो ।यसअघि पोखरा एभेन्जर्सका युजराज शमराले एनपिएल-३ मा पहिलो शतक प्रहार गरेका थिए । काठमाण्डुको लागि करण केसी र राशिद खानले समान दुई-दुई विकेट लिए ।
यस्तै मिशारा एनपिएल इतिहासमै व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी बनेका छन् । यसअघि दोस्रो सिजनमा कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध अविजित रहँदै ११४ रनको शतकीय पारी खेलेका थिए ।
उक्त खेलमा विजेताले क्वालिफायर–१ मा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम मङ्गलबार भएको क्वालिफायर–१ मा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको थियो ।
बुधबारको खेलमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ । जारी प्रतियोगितामा काठमाडौँले लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हार व्यहोरेको थियो ।
चितवनले सात खेलमध्ये तीनमा जित, तीनमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । लिग चरणमा यी दुई टोलीबीच भएको पहिलो भेटमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको थियो ।
पहिलो खेलमा बेहोरेको हारको बदला लिँदै क्वालिफायर–२ मा पुग्ने लक्ष्यसहित चितवन मैदान उत्रनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँ भने चितवनविरुद्धको जितलाई निरन्तरता दिने योजनामा हुनेछ ।




प्रतिक्रिया राख्नुहोस्