विश्वकप लिग–२ का पाँच शृङ्खलाका लागि बन्द प्रशिक्षण सुरु

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२१ मा विश्वकप लिग क्रिकेट दुई अन्तर्गत पाँच सिरिज खेल्ने नेपालले त्यसको तयारीका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसिर १० गते देखि बन्द प्रशिक्षणमा बोलाएको हो ।
कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो । क्यान कार्यालयका सचिव उदय प्रकाश शाहले आज सूचना जारी गर्दै बन्द प्रशिक्षण शुरु हुनुअघि ती सबै खेलाडी तथा प्रशिक्षकको पिसिआर परीक्षण गरिने जानकारी दिनुभयो । क्यानले आवश्यक सबै सावधानी अपनाएर प्रशिक्षण गर्ने जनाएको छ ।
प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, आरिफ शेख रहेका छन् ।
त्यसै गरी वसन्त रेग्मी झण्डै डेढ वर्षपछि प्रशिक्षणमा फर्किनुभएको छ भने अन्य खेलाडीहरुमा पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् ।