रामदेवको उद्योग खोल्नुभन्दा स्वदेशी उद्योगलाई नाफामा लैजाउ
भारतका योग गुरु रामदेवको चर्चा अहिले विश्वव्यापी छ । योग प्रशिक्षण दिएर चर्चामा आएका उनले पतञ्जली आयुर्वेदमार्फत विश्वभर आफ्नो व्यापारिक सञ्जाल नै खडा गरेका छन् । झण्डै २० हजार करोडको सम्पत्ति रहेको अनुमान गरिने पतञ्जलीका उत्पादन नेपालमा पनि उत्तिकै लोकप्रिय छ र रामदेवको योग पनि ।
गत शुक्रबार रामदेव आचार्य बालकृष्णसंगै नेपाल आए, आफ्नो टेलिभिजन च्यानल उद्घाटन गराए, चन्द्रगिरिको डाँडोबाट योग प्रशिक्षण दिए । रामदेवको नेपाल आगमन यत्तिमै सीमित थियो तर रामदेव नेपाल बसुन्जेलका उनका गतिविधि र सत्ताले उनलाई गरेको व्यवहार उदेकलाग्दो देखियो ।
मण्डिखटारस्थित पतञ्जली कार्यालय उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले रामदेवलाई आयुर्वेद कारखाना खोल्न सरकारले जग्गा दिने घोषणा गर्नुभो । माओवादी अध्यक्ष प्रचण्डले रामदेव “महान वैज्ञानिक र क्रान्तिकारी” भएको र उहाँको वैज्ञानिकता र क्रान्तिकारीताबाट आफू प्रभावित भएर निकट भएको बताउनुभयो ।
विश्वचर्चित एक साधुको तारिफ गर्नु कुनै ठूलो कुरा भएन । तर आफ्नो देशमा संस्कृतका पुस्तक पोल्ने, संस्कृत विश्वविद्यालयमा आगो झोस्ने, ब्राह्मण सस्कार र संस्कृति बिरुद्ध लाग्दै जनै–टुपी काट्ने प्रचण्ड अहिले रामदेवको भक्त हुनु नै आश्चर्यको विषय हो । हुन त वैदिक सनानती धर्म–संस्कृति नै नेपालको विकासको बाधक हो भन्नेहरु पछि महायज्ञका प्रमुख अतिथि भएर लाजपचाएकै हुन् ।
यी कुरा छाडौं– मूल विषयतिर लागौं । भारतमा रामदेवको उदय र पतञ्जली खडा हुनुपूर्व नै नेपालमा योग र आयुर्वेदको चरम विकास भएको थियो । धेरैलाई ज्ञात होला– जतिबेला रामदेव कुनै आश्रममा अध्ययन गर्दैथिए होलान् त्यतिबेला नेपाल टेलिभिजनमा योगी विकासानन्दले हरेक दिन योग प्रशिक्षण दिने गर्दथे । अहिले रामदेवको चाकरी गर्नुको साटो विकासानन्द जस्ता साधु र योगीहरुलाई प्रबद्र्धनतिर लागेको भए हामीले अरुको सिको गर्नु पर्दैनथ्यो । योगका प्रबद्र्धक ऋषि पतञ्जलि नेपालमै जन्मेका हुन् भन्छन् जानकारहरु । नेपालमै प्रबद्र्धन भएको योग विदेशीले नेपाल भित्र्याउनुपर्ने अवस्था आउनु विडम्बना हो ।
आफ्नोलाई कहिल्यै समर्थन नगर्ने, राम्रो नै नमान्ने तर अर्काको भने जे पनि राम्रो ठान्ने भिखारी सोचकै कारण हामी परनिर्भर हुँदै गएका हौं । नेपालमा स्थापित शताब्दीयौं पुरानो सिंहदरबार वैद्यखानाको हालत सुधार्नेतिर पटक्कै नसोच्ने, नरदेवी अस्पताल, प्रत्येक जिल्लामा रहेका आयुर्वेद अस्पतालहरुलाई प्रबद्र्धन गर्नेतिर ध्यान नदिने अनि रामदेवको उद्योगलाई जग्गा दिने घोषणा गर्ने शासकहरुको राष्ट्रप्रतिको सोच र विकासप्रतिको दृष्टिकोण कति तगडा ?
नेपाल बहुमूल्य जडिबुटीको भण्डार हो । कच्चा पदार्थकै रुपमा किलोकै हजारौं रुपैयाँ पर्ने यार्सागुम्बा जस्ता जडिबुटी यहीं छ । रामदेवले नेपालमा आँखा लगाएको यस्तै बहुमूल्य जडिबुटीका कारण हो भने हामी आफैं किन उद्योग नखोल्ने ? भएका उद्योगहरुलाई उत्पादन बढाउन लगानी किन नगर्ने ? रामदेवलाई जग्गा दिनु वा नदिनु अर्को कुरा हो । तर नेपालका उद्योगहरु धराशायी बनाएर विदेशी उद्योग स्थपनामा प्राथमिकता दिनु कहाँको राष्ट्रवाद हो ?
नेपालको समृद्धिको प्रमुख आधार हो जडिबुटी । जैविक विविधताले भरिपूर्ण नेपालमा औषधिजन्यदेखि लिएर विभिन्न सुगन्धित जडिबुटीको अथाह भण्डार रहेको छ । त्यसको सदुपयोगबाटै नेपाली जनता समृद्धिको उचाइमा पुग्न सक्नेमा दुईमत छैन । राष्ट्रिय अर्थतन्त्रको एउटा मजबुत र दीर्घकालीन आधारको रुपमा रहेका जटिबुटीजन्य वस्तुहरूको उपयोगिताका लागि अहिलेसम्म नीति बनेको छैन । जडिबुटीको निकासीभन्दा यसको प्रशोधन र अन्य वस्तुहरू उत्पादन गरेर निर्यात गर्ने परिपाटीको विकास अहिलेको आवश्यकता हो । तर वर्तमान वास्तविकता त के छ भने हामीले निकासी गरेको जडिबुटीबाट उत्पादित सामग्रीहरू हामीले महंगो मूल्य तिरेर खरीद गर्नु परिरहेको छ । औषधि, तेल वा अन्य सुुगन्धित वस्तुहरू हामी महंगो मूल्य तिरेर आयात गरिरहेका छौं ।
उच्च हिमाली भेगदेखि लिएर पहाडी क्षेत्रमा जडिबुटीको अथाह भण्डार छ । सामान्य रुपमा हेर्दा तितेपातीदेखि यार्सागुम्बा र पाँचऔंलेको उपयोग विश्वव्यापी रुपमा भैरहेका छन् । ग्रामीण क्षेत्रमा त्यसै मिल्कइरहेको तितेपातीको बहुउपयोगी गुणलाई मात्र हामीले उपयोग गर्न सक्यौं भने त्यसबाट लिन सकिने लाभ अनगिन्ती छ । कृषिप्रधान मुलुक नेपालमा डलर तिरेर कीटनाशक औषधि आयात गर्नुको साटो यसैको उपयोगितातिर ध्यान केन्द्रित गर्ने हो भने उत्पादित खाद्य पदार्थमा प्राकृतिक गुण प्राप्त हुनेछ । आयात खर्च पूरै रोकिने मात्र होइन, स्वदेशभित्रै थुप्रैले रोजगारी पनि प्राप्त गर्नेछन् । त्यस्तै हेर्दा सामान्य लाग्ने यस्तो औषधीय वनस्पतिहरू कति छन्, त्यसको लेखाजोखा नै छैन ।
औषधि होस् वा सुगन्धित तेल, अत्तर हुन् वा अगरवत्ती वा अन्य पदार्थ सबैको स्रोत प्रकृति नै हो । प्रकृतिमा यी सबै रहेका छन् । केवल यसको पहिचान र उपयोग मात्र आवश्यक छ । विश्वमा अहिले औषधिदेखि सौन्दर्य सामग्री समेत प्राकृतिक वनस्पतिद्वारा तयार पार्ने होडबाजी चलिरहेको छ । नेपाल जस्तो जडिबुटीको अपार भण्डार रहेको देशका लागि यो एउटा सुनौलो अवसर हो । तर हाम्राा उद्योग र अनुसन्धान केन्द्रहरु धराशायी हुँदै जाने, रामदेवको उद्योगलाई प्रबद्र्धन गर्ने नीतिले राष्ट्रिय अर्थतन्त्र कसरी माथी उठ्ला ?
झण्डै ४ सय वर्ष इतिहास बोकेको छ भनिन्छ सिंहदरबार वैद्यखाना । कोरोना महामारीका बेला वैद्यखाना, नरदेवी अस्पताल अनि कीर्तिपुरस्थित आयुर्वेद अध्ययन केन्द्रले दिएको सेवा–सुविधा नजरअन्दाज गर्न सकिन्न । सानो मात्रामा भए पनि यी निकाय अनि निजी क्षेत्रका कम्पनीहरुले पनि आयुर्वेदिक औषधि तथा अन्य उत्पादन कोरोना अवधिमा बजारमा ल्याए, कति हानिकारक पनि ठहरियो, यो बेग्लै कुरा हो । तर क्षमता, भएर पनि उत्पादन गर्न नसकेको सिंहदरबार वैद्यखानालाई अघि बढाउने सोच नराखेर रामदेवलाई जग्गा दिने घोषणा गर्नु आफैंमा विडम्बना हो ।
रामदेव जस्ता बहुराष्ट्रिय कम्पनीका मालिकले यहाँ ठूला उद्योग स्थापना गर्दा रोजगारी सिर्जना र केही आर्थिक लाभ नहुने हैन तर त्यसको तुलनामा आफ्नै देशमा भएका उद्योगहरुलाई प्रबद्र्धन गरी उत्पादन क्षमता बढाउनेतिर लाग्नसके त्यसको सयौं गुणा बढी लाभ देशले लिनसक्छ । लाभ मात्र हैन देशको नाम र प्रतिष्ठा पनि बढ्छ । इतिहासकाे सही अध्ययन र विश्लेषण गर्ने हो भने त्यसले भविष्यको आधार पनि तयार गर्दछ । “४ सय वर्ष पुरानो वैद्यखानाबाट उत्पादित औषधि वा शक्तिवद्र्धक वस्तु” भनेर विज्ञापन गर्दा मात्रै पनि विश्वका अधिकांश उपभोक्ताको ध्यान सोझै आकर्षित हुन्छ ।
मल्लकालदेखि संचालनमा रहेको सिंहदरबार वैद्यखाना अहिले आफ्नै प्राण बचाउन बाहिरी वैद्यको खोजीमा छ । सिंहदरबार वैद्यखानाको इतिहास, यसले गरेका कार्य अनि बनाएका औषधिहरुको खोजी गरी पुनः सुचारु गरौं र निर्यात गरौं त ! नेपालको जडिबुटी, नेपाली ज्ञान, सीप अनि केही आधुनिक र केही परम्परागत प्रविधिबाट बनेका औषधिहरु विश्वबजारमा सहजै पुर्याउन सकिन्छ । तर यहाँ रामदेवको प्रबद्र्धन गर्दैमा फुर्सद छैन । पिता पुर्खाले जोगाएर राखेका धरोहरहरु कि त ध्वस्त पारियो, कि त कौडीको भाउमा बेचेर मुलुकलाई परनिर्भर बनाउने नालायकहरु स्वदेशी उद्योग स्थापना र प्रबद्र्धनको साटो अझै पनि विदेशीकै मुख ताकिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्