कोरोना बीमा दावी गर्ने बढेपछि संक्रमितको नाम रुजु गरिंदै
कोरोना बीमा गराएर बीमा रकम दावी गर्नेहरुको संख्या बढ्दै गएपछि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड–१९ को बीमा दाबी गर्ने संक्रमित भएको हो वा हैन भन्ने रुजु गर्न थालेको छ । पछिल्लो समय कोरोना पोजेटिभ र नेगेटिभको रिपोर्ट नै नक्कली बनाउने गरिएको तथ्य खुलेपछि महाशाखाले रुजु गर्न लागेको हो ।
संक्रमितको नाम रुजु गर्नका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी काम शुरुआत गरेको हो ।
बीमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ५३० जना कोभिड–१९ सङ्क्रमित व्यक्तिको बीमाका लागि रुजु गरिसकेको छ । रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको जनाइएको छ । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ ।
“सङ्क्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्ने गर्दछौँ”, समितिका संयोजक अधिकारीले भन्नुभयो, “ दुवैमा मिलेपछि मात्र हामीले बीमाका लागि सिफारिस गर्दछौँ ।”
समितिले रुजु गरिसकेपछि मात्र बीमाबापतको रकम पाउनेछन् । उक्त समितिले नाम, उमेर र ठेगाना रुजु गर्ने गर्दछ ।
विसं २०७७ भदौ २८ अगाडि बीमा गरेका कोभिड–१९ को सङ्क्रमित ५० हजार र एक लाख बीमा तथा भदौ २९ गतेपछि बीमा गरेकाले २५ हजार र ७५ हजार रुपैयाँ पाउने गर्दछन् ।
बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले गलत रिपोर्ट लिएर बीमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म करिब २५ हजार जनाले बीमा दाबी गरेका छन् । अहिलेसम्म नेपालमा दुई लाख २० हजार ३०८ जना सङ्क्रमित भएका छन् । यस्तै एक लाख ९९ हजार २४ जना निको र एक हजार ३२१ जना सङ्क्रमणबाट निधन भइसकेको छन् ।