राजनीति

लमजुङबाट नेत्रविक्रमका छ नेता कार्यकर्ता विस्फोट पदार्थसहित पक्राउ

प्रतिबन्धित नेपाल कम्यनिष्ट पार्टी (नेत्रविक्रम चन्द समूह)का ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले विस्फोटक पदार्थसहित पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी विस्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लमजुङ दोर्दी गाउँपालिका– ५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा आज अपराह्न १ बजे प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले तिनलाई घेराबन्दी गरेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका वडा नं २ घर भएका लमजुङ इञ्चार्ज भनिने ४२ वर्षीय जङ्गबहादुर भण्डारी, लमजुङ जिल्ला, दोर्दी – ७ घर भएका जिल्ला सेक्रेटरी भनिने ४६ वर्षीय बिलबहादुर गुरुङ, मध्यनेपाल नगरपालिका वडा नं ४ घर भएका लमजुङ जिल्ला कमिटी सदस्य भनिने ६२ वर्षीय नारायणबहादुर कुँवर, राइनास नगरपालिका–६ घर भएका जिल्ला कमिटी सदस्य भनिने ३४ वर्षीय रवीन्द्र नखोला रहेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ थापाले बताउनुभयो ।

उहाँका अनुसार समूहका कार्यकर्ता दोर्दी –७ घर भएका २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल– १० घर भएका २६ वर्षीय सुजन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तलाई पक्राउ गरी खाजतलासी गर्नेक्रममा उनीहरुले झोलाभित्र लुकाइराखेको विस्फोटक पदार्थ पनि प्रहरीले बरामद गरेको छ । त्यस्तै पार्टीसँग सम्बन्धित कागजपत्र, नगद, ग १५ प ८१३७ नम्बर र बा ७४ प ७०८७ नम्बरका मोटरसाइकल, मोबाइल सेट र सिमकार्ड पनि बरामद गरिएको छ ।

सम्बन्धित खबर

Back to top button