जन सरोकार

इलामको पर्यटकीयस्थल जौबारी डाँडामा सशस्त्र सीमा सुरक्षाचौकी उद्घाटन

इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटन गरिएको छ । इलामको सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरसम्म नेपाल भारत सीमा क्षेत्र रहेको इलाममा अहिले धमाधम बोर्डर आउट पोष्ट स्थापना भइरहेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल भारत सीमा क्षेत्र अवलोकन र चौकी उद्घाटन गर्ने कार्यक्रम भने खराब मौसमका कारण प्रभावित भएपछि प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा आन्तरिक मामिलामन्त्री कार्कीले गोठाला र विनाबर्दीका जनताले जोगाएको सीमा क्षेत्रमा सरकारी निकायको उपस्थितिपछि आपराधिक घटना घट्ने बताउनुभयो । प्रदेश नं १ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले नेपाल भारत सीमा क्षेत्रमा सीमा सडक निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य खिनुलङ्वा लिम्बू, काजीमान कागते र धीरेन्द्र शर्मा रमण, जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, सशस्त्र प्रहरी बराह बाहिनीपति वंशीराज दाहाल, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएसँगै जनताले सुरक्षित महसुस गर्ने बताउनुभयो ।

प्रधानमन्त्री उपस्थित हुने भनिएको कार्यक्रममा इलाम उत्तरी क्षेत्रका करीब दुई हजार जनताको सहभागिता थियो । पशुपतिनगर, कालपोखरी, छब्बीसे, समालबुङ, सलकपुर र जौबारीमा बिओपी स्थापना भएपछि इलामको सीमा सुरक्षा मजबुत भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.