जन सरोकारस्वास्थ्य

दुबै मात्रा खोप लगाएका संक्रमितहरु बढ्न थाले

बुस्टर डोजको बारेमा छलफल गर्नुपर्ने स्थिति आइसक्यो- अल्पताल भर्ना भएका ८३ प्रतिशत खोप लगाएका

नेपालमा कोरोना भाइरसबिरुद्धको खोप अभियान चलिरहेको छ । सरकारले लिएको लक्ष्य अनुसार नै खोप लगाउने काम भैरहे पनि सुरुवातमै खोप लगाएकाहरुमा पुनः संक्रमण देखिन थालेको छ ।

अझ चिन्ताको विषय के छ भने दुबै मात्रा खोप लगाइसकेकाहरुमा संक्रमण हुँदा खोप नलगाएको बेलाभन्दा बढी गाह्रो भएको संक्रमितहरुको अनुभव छ । अस्पतालहरुमा संक्रमणको उपचार गर्न आएका अधिकांश खोप लगाएका छन् ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कुल बिरामीमध्ये ८३ प्रतिशत कोभिड १९ विरुद्ध दुवै खोप लगाएकाहरू छन् । त्यस्तै १७ प्रतिशत सङ्क्रमित खोप नलगाएकाहरू रहेका छन् ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार दुवै खोप लगाएका सङ्क्रमितहरू सामान्यदेखि गम्भीर लक्षण पनि देखिएका छन् । कोही आईसीयूमा उपचाररत छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपले सर्वसाधारण मानिसको शरीरमा विकास गर्ने एन्टिबडी कति समय प्रभावकारी हुन्छ भन्ने विषयमा अनुसन्धान गरेको थियो । उक्त अध्ययनले ती एन्टिबडी ९० दिनपछि कमजोर बन्दै जाने देखाएको छ।

अनुसन्धानमा संलग्न डा. विष्णु मरासिनीका अनुसार काठमाणडौं भित्रका १,८०० जनामा अनुसन्धान गरिएको थियो । अनुसन्धानमा समुदाय स्तरका खोप लगाएका, नलगाएका र एक मात्र मात्रा लगाएकाहरूलाई सामेल गरिएको थियो ।

अनसन्धानबाट दुवै मात्रा खोप लगाएकाहरूमा पनि खोप लगाएको ९० दिन पछि एन्टिबडी घट्दै गएको देखिएको डा. मरासिनीले बताउनुभयो । उहाँले सबै उमेर समूहका मानिसको शरीरमा खोपले विकास गरेको एन्टिबडीको प्रभावकारिता कम हुने देखिएको पनि बताउनुभयो । उहाँ भन्नुहुन्छ, “धेरैले खोप लगाएको छ महिना नबितेकाले एन्टिबडीको प्रभाव शून्यमा झरिसकेको छैन, अध्ययन जारी छ ।

खोप लगाएपछि पनि सङ्क्रमण भएका अधिकांश मानिसमा केही दिनसम्म ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेजस्ता लक्षण देखिएको छ । धेरैको अवस्थामा सुधार आए पनि अपवादमा अवस्था जटिल हुने र मृत्युसम्म हुने देखिएको छ ।

लक्षणहरू पहिलेभन्दा फरक छैनन् । खोप लगाएकाहरू केही दिनको अप्ठेरोपछि समस्याबाट उन्मुक्त भएको पाइएको छ । जसलाई धेरै गाह्रो भयो उहाँहरूको छाती बिग्रिएको देखिन्छ । त्यसैले अस्पताल भर्ना हुनेहरूको फोक्सो जोगाउनु नै महत्त्वपूर्ण विषय हो ।

सङ्क्रमण भएको वा खोप लगाएको छ महिनासम्म एन्टिबडी सक्रिय हुने भएकाले सङ्क्रमणको जोखिम कम हुने वा सङ्क्रमण भए पनि सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल नबन्ने चिकित्सकहरूले बताउँदै आएका छन् ।

नेपालमा ५० प्रतिशतभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमणले नै प्रतिरक्षा प्रणाली सबल बनाएको र खोप लगाएका मानिसमा पनि कोभिड-१९ विरुद्ध एन्डिबडी बनेको सङ्क्रामक रोगविज्ञ डा‍ प्रभात अधिकारी बताउनुहुन्छ ।

अधिकारीले भन्नुहुन्छ- “खोप लगाउनुको अर्थ सङ्क्रमण हुँदै नहुनु होइन । नेपालको हकमा दोस्रो लहर सकिएको कम्तीमा चार महिना त भयो । अबको एक दुई महिनामा त समुदाय स्तरको कोरोनाभाइरसविरुद्ध प्रतिरक्षा प्रणाली धेरै मात्रामा कम हुने सम्भावना छ ।”

अधिकारीका अनुसार खोप लगाउँदैमा सबैमा प्रतिरक्षा प्रणाली विकास नहुन सक्छ । खोप लगाउँदा प्रयोग गरिने साधन र लगाउने प्रक्रिया सही भए मात्र प्रभावकारिता उच्च रहने र सम्बन्धित मानिसको प्रतिरक्षा क्षमताले पनि सङ्क्रमणको जोखिम निर्धारण गर्ने उहाँको कथन छ ।।

खोप लगाएका मानिसमा पुनः सङ्क्रमण देखिए पनि प्रायः धेरै जनामा सामान्य लक्षण, न्यूनमा गम्भीर स्वास्थ्य समस्या र अपवाद मृत्युको घटना देखिएको छ । गम्भीर स्थितिमा पुग्ने र मृत्यु हुनेमा वृद्धावस्था धेरै रहेका छन् ।

विकसित देशहरूमा उक्त जोखिम न्यूनीकरणका लागि बूस्टर डोजको परिकल्पना भएको छ । एन्टिबडी खस्किँदै जाँदा मानिसको शरीरको दोस्रो प्रतिरक्षात्मक पङ्क्ति सक्रिय हुने सम्भावना रहने डा. शेरबहादुर पुन बताउनुहुछ । फेरि सङ्क्रमण भएको अवस्थामा शरीरका ‘मेमोरी सेल’ले सङ्क्रमणविरुद्ध एन्टिबडीहरू बनाउँछन् ।

खोपको दुबै मात्रा पूरा गरेपछि जोखिम कम भए पनि पूर्ण सुरक्षित रहेको अवस्था छैन । नेपालमा मात्र हैन विश्वभर यही अवस्था रहेका कारण खोपको बुस्टर डोजको बारेमा छलफल गर्नुपर्ने स्थिति नेपालमा पनि आइसकेको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.