चार महिनाको वैदेशिक व्यापार : चार खर्बको आयात हुँदा ४० अर्बको निर्यात
मुलुकको वैदेशिक व्यापार चरम घाटामा रहेका बेला चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा चार खर्बभन्दा बढीको आयात हुँदा ४० अर्ब बराबरको निर्यात भएको छ । यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत आयात घटेको छ भने १० प्रतिशत नै निर्यात बढेको छ ।
भन्सार विभागका अनुसार यस अवधिमा चार खर्ब दुई अर्बको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमी हो । यसै गरी चार महिनाको अवधिमा रु ४० अर्ब २० करोडको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।
तथ्याङ्क अनुसार चार महिनाको अवधिमा रु चार खर्ब ४२ अर्ब ६९ करोडको वैदेशिक व्यापारबाट नेपालले रु तीन खर्ब ६२ करोड घाटा बेहोरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो । गत आवको सोही अवधिमा रु चार खर्ब ८६ अर्ब ५७ करोड बराबरको वैदेशिक व्यापार हुँदा रु चार खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो ।
गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा रु एक खर्ब १३ अर्बको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुनः घटेको भन्सारले जनाएको छ ।