राजनीति

सरकारी निकायको आर्थिक अनुशासनहिनता महालेखाले रोक्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकका सेवाका लागि स्थापना भएका सरकारी निकायमा आर्थिक अनुशासनमा कमी हुन थालेका प्रति चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न महालेखापरीक्षको कार्यालयको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

आज महालेखापरीक्षको कार्यालय भवनको काठमाडौंमा उद्घाटन कार्यक्रममा चाणक्यको अर्थशास्त्रमा लेखिएको ‘अथ अर्थानुशासनम’ पदावलीको सापटी लिँदै राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन पालना गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको उत्तिकै भूमिका रहने स्पष्ट पार्नुभयो ।

नियन्त्रणको प्रयास भइरहँदासमेत प्रत्येक वर्ष बेरुजु बढ्नु चुनौतीको विषय रहेको उल्लेख गर्दै उहाँले कसरी त्यसको फछ्र्यौट गर्ने भन्ने सवालको जवाफ खोज्नुपर्नेमा जोड दिनुभयो । व्यापार घाटा बढ्दै गएकामा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गर्नुभयो । निर्यातको तुलनामा आयातको मात्रा बढ्दै गएकाले व्यापार घाटा चुलिएको तथा कृषि उपजमा परनिर्भर बढ्नु चिन्ताको विषय भएको उहाँको भनाइ छ ।

जैविक इन्धनको आयात बढ्दै जानुले व्यापार घाटाको मात्रामा वृद्धि भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विद्युतीय सवारीसाधनको प्रयोग बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । आत्मनिर्भर र स्वाधिन अर्थतन्त्रको निर्माणका लागि जनताको उद्यमशीलताको विकास गर्न महालेखापरीक्षकको कार्यालयले भूमिका निर्वाह गर्न सक्ने उहाँको भनाइ थियो ।

संवैधानिक भूमिका अनुसार मुलुकको आर्थिक अनुशासनको परिपालना गराउन महालेखाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सूचना र प्रविधिमा आधारित लेखापरीक्षण प्रणाली लागू गर्न लागेकामा प्रशन्नता व्यक्त गर्नुभयो । सङ्घीयताको कार्यान्वयनपछि महालेखाको क्षेत्राधिकार विस्तार भएको तथ्य पेश गर्दै उहाँले नागरिकले थोपा–थोपा जम्मा गरेको अर्थकोे सही सदुपयोग भयो कि भएन हेर्र्ने दायित्व पूरा गर्न महालेखालाई आग्रह गर्नुभयो ।

महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले २०७२ सालमा गएको भूकम्पका कारण बबरमहलस्थित मुख्य भवनमा क्षति पुग्दा काम गर्ने वातावरणमा असर परेको भन्दै नयाँ भवनको निर्माणपछि कर्मचारीको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

वार्षिकरूपमा रु एक खर्बभन्दा बढी बेरुजु देखिनु र त्यो बढ्दै गएर रु ६ खर्ब ७६ अर्ब पुगेको तथ्याङ्क पेश गर्दै उहाँले आर्थिक अनुशासन पालना गर्न सबैको उत्तिकै भूमिका रहने स्पष्ट पार्नुभयो । सबै सरकारी कार्यालयको लेखापरीक्षणलाई थप पारदर्शी, व्यावसायिक र विश्वसनीय बनाउन आफूहरुले अहोरात्र प्रयास गरिरहेको दङ्गालको भनाइ छ ।

छिट्टै सातै प्रदेशमा महालेखाको कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले सरकारी लेखापरीक्षणलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भवन निर्माणमा संलग्न सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, निर्माण व्यवसायीलगायतलाई दङ्गालले धन्यवाद दिनुभयो । लोकसेवा आयोग र काठमाडौँ उपत्यका विकास प्राधिकरणसँगै अनामनगरस्थित महालेखापरीक्षकको नवनिर्मित भवन कूल सात रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यस्तो छ भवन

विसं २०७२ को भूकम्पले बबरमहलस्थित भवनमा क्षति पुगेर प्रयोग गर्न नसकिने भएपछि अनामनगरमा नयाँ भवन निर्माण गरिएको हो । महालेखाले २०७३ साउन ३१ गते लुम्बिनी÷गौरी पार्वती शान्ति जेभीलाई भवन निर्माणको जिम्मा दिएको थियो ।

सुरुमा सो भवन निर्माणका लागि रु ७८ करोड २० लाख ६६ हजार लागत अनुमान गरिएको थियो । निर्माण व्यवसायीसँग सुरुमा रु ६१ करोड २७ लाख १७ हजारमा भवन निर्माणको सम्झौता भएको महालेखापरीक्षक दङ्गालले जानकारी दिनुभयो ।

कोभिड–१९ लगायतका कारणले समयमा काम गर्न नसकिएपछि ठेकेदारलाई भेरियसनवापत सुरु ठेक्का रकमको ६.६६ प्रतिशत थप गरिएको थियो । त्यस आधारमा भवनको कूल लागत रु ७३ करोड नौ लाख ४३ हजार पुगेको छ । सुरुमा भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता गरिँदा २०७६ भदौ २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि चारपटक म्याद थप गरिएको थियो ।

भवनमा बेसमेन्टसहित १० तला छन् भने अण्डरग्राउन्ड दुई तलाको छ । जसलाई सवारीसाधनको पार्किङका लागि प्रयोग गरिनेछ । सो पार्किङमा ५० चारपाङ्ग्रे सवारीसाधन र २४० दुईपाङ्ग्रे सवारीसाधन अट्ने क्षमता छ । भवनको भुइँतलामा रिसेप्सन, पुस्तकालय, सोधपुछ कक्ष र चमेनागृह छ । दोस्रो तलामा महालेखा परीक्षकको कार्यकक्ष, ७५ कर्मचारी अट्ने क्षमताको बैठक कक्ष र विशिष्ट व्यक्ति भेटघाट कक्ष छ । अन्य तलामा कार्यालयका विभिन्न विभाग रहनेछन् ।

कार्यालयमा एक महालेखापरीक्षक, चार उपमहालेखापरीक्षक, १८ नायब महालेखापरीक्षकसहित ६४३ जनाको दरबन्दी छ । नवनिर्मित भवनमा कूल ५०० कर्मचारीले काम गर्न सक्नेछन् । बबरमहलको भवन क्षतिग्रस्त भएपछि केही कोठामात्रै प्रयोग गरेर पुल्चोक, ताहाचल, अनामनगर र डिल्लीबजारमा भवन भाडामा लिई कार्यालय सञ्चालन गरिएको थियो ।

सो भवन निर्माणमा परम्परागत र आधुनिक ढाँचाको प्रयोग गरिएको छ । वास्तुसमेत मिलाइएको छ भने आँखीझ्याल टायलको प्रयोग गरिएको छ । भवनको आँगनमा चाणक्यको अथ अर्थानुशासनम् भन्ने पदावली पनि लेखिएको छ । यस्तै भवनमा २०० जना अट्ने क्षमताको सभाकक्ष छ भने खुला कार्यकक्षको अवधारण अवलम्बन गरिएको छ । लेखापरीक्षणका फाइल व्यवस्थापनका लागि एकीकृत कक्षको व्यवस्थापन गरिएको उपमहालेखापरीक्षक रामप्रसाद डोटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button