जन सरोकार

अख्तियारका आयुक्तलाई ७८ लाख रुपैयाँ घूस दिने न्यौपाने यसरी परे सिआईबीको फन्दामा

करोडौँ ठगीका आरोपित नेपाल इञ्जिनीयरिङ कलेज भक्तपुरका तत्कालीन अध्यक्ष रामेछापको मन्थली घर भई काठमाडौँको चण्डोल बस्ने ६४ वर्षीय लम्बोदरकुमार न्यौपाने पक्राउ परेका छन् ।

न्यौपानेमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको घुस रिसवतसम्बन्धी मुद्दाको कसुरमा उनी धरौटीमा छुटेका थिए । २ वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो ।

नयौपानेलाई विभिन्न प्रपञ्च रचेर भक्तपुर चाँगुनारायण नगपालिका– ४ स्थित नेपाल इञ्जिनीयरिङ कलेजको सम्पत्तिमा नोक्सानी पुर्याइ ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बुधबार काठमाडौँको चण्डोलबाट पक्राउ गरेको हो ।

उनी लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

न्यौपानेसमेतको संलग्नतामा लेखा परीक्षणबाट खुल्न आएको रु आठ करोड २१ लाख ५३ हजार बेरुजुसहित रु २३ करोड १० लाख ठगी गरेको खुल्न आएको उहाँले बताउनुभयो । उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएकोसमेत थापाले जानकारी दिनुभयो ।

विसं २०५१ मा सात जना रही मुनाफारहित उद्देश्यले उक्त संस्था स्थापना भएको थियो । सञ्चालकले नै संस्थामा ठगी गरेको खुल्न आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गत वर्षको निर्णयले सञ्चालक समितिलाई भङ्ग गरी चाँगुनारायण नगरपालिकाका प्रमुखको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति बनाएको थियो ।

प्रहरीका अनुसार काम अनुसार यसअघि विसं २०७३ मा सञ्चालक समितिको बैठकले जनही रु एक करोड ५० लाख रकम बिल भर्पाई पेश गर्न नपर्ने गरी लिएको खुल्न आएको छ । कलेजबाट लिएको रकमले किनेको गाडी तत्कालीन अध्यक्ष न्यौपानेले आफ्नो नाममा दर्ता गरेकोसमेत सिआइबीले जनाएको छ ।

उनीमाथि कलेजको लेटर प्याड र छापको दुरुपयोग गरी खर्च नै नभएको पैसा खर्च भएको भनी रू ५७ लाख ५० हजार रकम झिकेको आरोप पनि छ । उनले काल्पनिक शीर्षक बनाई सादा कागजमा हस्ताक्षर गरी बिल भर्पाई नचाहिने गरी आफ्नो कार्यकालको विभिन्न मितिमा रकम झिकी ठगी गरेका खुल्न आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.