विश्व समाचार

बेलायतद्वारा ६ मुलुकसँगको उडान सेवा बन्द, अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ

बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ ।

यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले जानकारी दिनुभयो ।

ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएका र भेटिन सक्ने खतरा रहेका देशहरुबाट हुने उडान बेलायतमा प्रतिबन्ध लगाइएको हो ।

नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस भन्ने उद्धेश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरु स्थगित गरेको हो।

अधिकारीहरुका अनुसार अहिलेसम्म सो नयाँ भाइरस दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी तीन देशमा कुल ५९ जनामा मात्रै पुष्टि भएको छ ।

अहिलेसम्म पुष्टि भएका मध्ये सबैभन्दा खतरापूर्ण भइरस भएकाले र अहिले खोपले पनि काम गर्न नसक्ने भएकाले बेलैमा उच्च सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ।

त्यसैगरी पछिल्लो १० दिनभित्र ती देशमा गएर फर्किएका यात्रुलाई पनि बेलायत प्रवेशमा रोक लगाइएको छ ।

तर बेलायती नागरिकलाई भने उच्च सतर्कताका साथ परीक्षण गराएर क्वारेन्टिनमा राखेर मात्रै गन्तव्यमा जान पाउने व्यवस्था गरिएको छ ।

यसै गरी अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पार्नुभयो ।

“सरकारले सीमा क्षेत्रमा प्रतिबन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्छ, यस बारेमा अध्ययन र छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा उहाँले नौ दक्षिण अफ्रिकी मुलुकहरुबाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने संभावना पनि रहेको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायतका देशहरुबाट अष्ट्रेलिया आउने उडान रद्ध गर्ने संभावना रहेको छ ।

तत्कालका लागि भने ती देशबाट आउनेहरुलाई उच्च सतर्कताका साथ जाँच गर्न र कुनै सङ्क्रमण र खतरा छैन भन्ने सुनिश्चिता गर्न निर्देशन दिइसकिएको पनि उहाँले बताउनुभयो ।

त्यसैगरी अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरु अष्ट्रेलियामा नभएको लगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्य मन्त्री हन्टले जानकारी दिनुभयो ।

तर अष्ट्रेलियाको नागरिक भएको, अष्ट्रेलिया निवासी भएको, आश्रितहरु अष्ट्रेलियामा भएको लगायतलाई भने अष्ट्रेलिया प्रवेश गर्न दिइएपनि कम्तीमा १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य मन्त्री हन्टले अहिलेसम्म अष्ट्रेलियामा कोरोनाभाइरसको नयाँ संस्करण ओमिक्रोन नभेटिएको दावी पनि गर्नुभयो । तर पुरानै संस्करणको कोरोनाभाइरसको सङ्क्रमण भने अझै पनि फैलिइनै रहेको छ । पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा एक हजार ४०० भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.