बिचार

आफ्नो नाभीको सुगन्ध चिन्न नसकेर त्यो सुगन्धको खोजीमा भौतारिएपछि…

यादब देवकोटा

एक हजार वर्षभन्दा अगाडि पूर्वीय समाजका महान विचारक आचार्य चाणक्यले राजनीति, समाज नीति, अर्थनीतिको स्पष्ट मार्गदर्शन दिएर गए । त्यसलाई पश्चिमका चिन्तकले अध्ययन गरेर आफ्नो सम्पत्ति बनाए र विश्वभर फैलाए । माक्र्सवाद भने पनि, समाजवाद भने पनि, प्रजातन्त्र भने पनि सबै चाणक्यको नीति र त्योभन्दा अघि वेदले स्थापना गरेको राजधर्मको सिद्धान्तमा आधारित थियो । हामीले त्यसलाई बुझ्नै सकेनौं– किनभने हामी मानिसबाट सुगामा परिणत भयौं । पश्चिमा चिन्तकको ‘वाद’को पछि लागेर त्यो वादको जननी हाम्रा संस्कृत पुस्तकहरुमा आगो झोस्यौं अनि संस्कृत भाषालाई अपमानित गर्दै गाली गर्न थाल्यौं ।

यही संस्कृत भाषा युरोप, अमेरिकातिर व्यापक रुपमा अध्ययन अध्यापन भैरहेको सुन्न थालेपछि यसको महत्व त बुझे तर कसरी यसलाई मुलुकबाटै विस्थापित गर्न सकिन्छ भनेर अर्को कमजोरी केलाउन थाल्यौं । केलाउँदै केलाउँदै संस्कृतलाई कर्मकाण्डसंग लगेर जोडे अनि भन्न थाले “यो त बाहुनहरुको गरिखाने भाषा रहेछ” ! तर जसले यसो भनिरहे– तिनका पिता पुर्खा पनि बाहुन नै थिए र तिनको नाम पनि संस्कृत शब्दबाटै राखिएको छ ।

आफ्नो नाम संस्कृतबाट राख्ने, जन्मदेखि मृत्युका सबै संस्कार पनि गर्ने अनि संस्कृतलाई दुत्कार्ने, वैदिक शासन व्यवस्थाले स्थापित गरेका मान्यताहरु लत्याएर आयातित ‘वाद’को घोडा चढेर देश र जनतालाई लुट्न पल्केकाहरुले यो देशमा जति बेथिति, विसंगति, अत्याचार, लुट गर्न सक्यो उति शासन बलियो हुन्छ भन्ने गलत मान्यतालाई स्थापित गर्न खोजेका छन् । ‘माक्र्सवाद’ होस् वा अरु जुनसुकै वाद– यिनको उद्देश्य देश र जनताको हितका लागि हो भने आज महामारीका बेला देश किन रोइरहेको छ । १ किलो मलका लागि कोरोना संक्रमणको जोखिमको वास्तै नगरी भीड लाग्नपर्ने बाध्यता कृषिप्रधान देशका जनताको बाध्यतालाई कुन दर्जाको ‘समाजवाद’ भन्ने ? के माक्र्सवाद–लेनिनवाद–माओवाद अनि समाजवाद, ‘जनताको बहुदलीय जनवाद’ र ‘प्रजातान्त्रिक समाजवाद’ यही हो ?

नेपाली समाजमा विद्वान भनेर गनिएका, चिनिएका, प्रचार गरिएकाहरुमा ज्ञानको सीमा कति छ भन्ने उनीहरुको अभिव्यक्ति र व्यवहारबाटै प्रष्ट हुन्छ । ज्ञानी वा विद्वान आफ्नो रोजीरोटीका लागि कुकर्म गरेर हिंड्दैन । ज्ञानीका लागि दुईछाक खाने दुःख हुँदैन । तर यहाँ जो विद्वान कहलिएका छन्, उनीहरु नै लुटेरा बनेर गरीब जनताको रगत चुसिरहेका छन् । महामारी, प्राकृतिक विपत्ति जस्ता अवस्था उनीहरुका लागि विद्वाता छाट्ने अवसर अनि शासनमा बसेकाहरुलाई कमाउने मौका बन्ने गरेका छ ।

अहिले कोरोना संक्रमणको महामारी छ, जनता काम नपाएर भोकभोकै छटपटिएका छन्, तर हातमुख जोर्न सकस परिरहेका जनतालाई न काम छ न माम नै । अहिलेको संक्रमणलाई मौकाका रुपमा प्रयोग गरी जनतालाई देशभित्र श्रमगर्ने बानी बसाल्न सकिन्थ्यो । काम नपाएकाहरुलाई विकास निर्माणमा लगाएर उनीहरुका लागि दैनिक ज्यालाका रुपमा खाद्यान्न दिने काम समेत गर्न सकेको छैन ।

पञ्चायतकालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम चलाएर गाउँगाउँमा विकास निर्माणका कार्य हुन्थे । अहिले त्यही समय आएको छ । के सरकार यति गर्न सक्दैन ? उनीहरुमा त्यो क्षमता छैन र गर्न चाहे पनि सक्दैनन् । किनभने उनीहरु अरुकै निर्देशनमा चलिरहेका छन् । अध्ययन वा ज्ञान दुई किसिमको हुन्छ- एउटा घोकाइदिएको, अर्को आफैंले पढेको, बुझेको । अहिले हाम्रा विद्वान शासकहरुको ज्ञानको सीमा अरुले घोकाइदिए जति मात्रै छ । स्वयं अध्ययन गरेर, जानेर, बुझेर विश्लेषण गर्ने क्षमता छैन । कठपुतली विद्वानहरुले स्वदेशको अध्ययन नै नगरेपछि उनीहरुबाट स्वदेशले स्वाबासी दिने काम गर्छन् भनेर पत्याउनु मुर्खता हो ।

वैदिक संस्कृति र संस्कारको मुख्य प्रवृत्ति स्वाध्याय हो । स्वाध्यायलाई महत्व दिने हिन्दु समाजमा अहिले लादिएको, घोकाइदिएको ज्ञानको बोलवाला छ । यसैकारण अपूर्णता र दुर्बलताले उनीहरु शास्त्रहरुको मपमान गर्छन्, किनभने उनीहरुले शास्त्र र शस्त्रको भेद नै छुट्याउनै सक्दैनन् । बल, धन र अहंकार प्रदर्शनलाई नै ‘प्रगतिशील‘ भन्न थालिएको छ । जेपायो त्यही गर्न पाउनु, बोल्न पाउनु, लुट्न पाउन, आफ्ना आसेपासेहरुलाई पोस्नुलाई नै स्वतन्त्रता मानिएको छ, लोकतन्त्र–गणतन्त्रको प्रतिफल ठानिएको छ ।

‘स्वतन्त्र’ दुई शब्दको जोड हो । ‘स्व‘ भनेको आफू र ‘तन्त्र‘ भनेको विधि निर्माण गर्नु हो । आज कसले कस्तो बिधि निर्माण गर्यो त ? माक्र्सवादलाई एकछिन किनारा लगाए ‘चाणक्यवाद’ कसले पढ्यो ? चाणक्यका राजनीति, अर्थनीति, समाज नीति, शिक्षा नीति कसले बुझ्न चाह्यो ? आफ्नो नाभी भएको सुगन्ध चिन्न नसकेर त्यो सुगन्धको खोजी गर्नेहरुले पाश्चात्य विद्वानले असल भने असल र खराब भने खराब मान्ने दास मानसिकता राखेपछि कसरी देश र जनताको भलो हुन्छ ?

एउटा सानो उदाहरण– के हाम्रो संस्कार हातधुने थिएन ? छैन ? विदेशीले दिएको पैसामा गैरसरकारी संस्थाले हात धुन सिकाउने अभियान चलाउनु आवश्यक थियो ? हात धुने मात्र हैन खाना खानुअघि नुहाउनु, लुगा फेर्नुपर्ने संस्कृति त हाम्रै थियो नि ? के त्यो बिर्सेर पाश्चात्त्य समाज सभ्य छ भन्ने सन्देश दिन उनीहरुको पैसामा हातधुने अभियान चलाइनु हाम्रो संस्कृति, परम्परा र ज्ञानको स्रोतलाई धुलोमा मिलाउनु हो कि हैन ? पूर्वीय समाजमा हात धुने तरिका सिकाउने वा दाँत माझ्नुपर्छ भन्ने शिक्षा आफ्ना बालबच्चालाई दिँदैनथे भन्ने संकेत गरेर गैरसरकारी संस्थाले अभियान चलाउँदा त्यसमा सम्मिलित हुने पदाधिकारीलाई यो अवगत हुनुपथ्र्यो– नेपाली समाजमा हात धुने, मुख धुने त के महास्नान संकल्पद्वारा नै गर्ने परिपाटी थियो । गोबर, खरानी, दूबो, कुश, माटो लगाएर मिचीमिची सर्वाङ्ग स्नान गर्ने पद्धति प्रचलनमा थियो र अहिले पनि छ ।

यी सबै परम्परागत वैदिक ज्ञानलाई वेवास्ता गरेर पश्चिमाको सिको गर्दा देश यता न उताको भएको छ । सांस्कृतिक धरोहरहरु धक्का खाएर उठ्नै नसक्ने अवस्थामा पुगेका छन् भने गाउँगाउँमा धार्मिक अतिक्रमण छ । पश्चिमा संस्कृतिलाई खुला आमन्त्रण दिएर इसाईकरणको बाढी हुलेर नेपाली समाज क्षतविक्षत पारिएको छ । आयातित सिद्धान्त, दर्शन, विचार र व्यवहारले कुनै पनि देशले उन्नति गर्न सक्दैन भन्ने जान्दा जान्दै अझै पनि चाणक्य नीतिको साटो फगत माक्र्सवादकै रटान लगारहेका छन् । तैपनि माक्र्सवादलाई व्यवहारमा सानो अंश मात्र पूरा गरिएको भए नेपाली समाज अर्कै हुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.