राजनीति

कांग्रेस जिल्ला अधिवेशनः कहाँ कसले बाजी मारे

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा भएका भएका मतदानको परिणाम प्राप्त भएको छ । कतिपय जिल्लामा अधिवेशन सुरु हुन सकेको छैन भने केही जिल्लमा विवाद उत्पन्न भएपछि पुनः मतदान सुरु गरिएको छ ।

कास्की- नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी बन्नुभएको छ । शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उहाँले सुदीपमोहन भट्टराईलाई पराजित गर्नुभएको हो ।

शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार पुनः नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो । कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।

कांग्रेसको २०८८ मतदाता रहेकामा शनिबार एक हजार ९२६ मत खसेको थियो । ती मध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गर्नुभयो । पहिलो चरणका निर्वाचनमा दुई हजार २५ मत खसेको थियो भने ४७ मत भने बदर भएको थियो । उक्त चरणमा आइबहादुर गुरुङ, पोषनाथ शर्मा, गिरीराज गौतम पनि प्रत्यासी हुनुहुन्थ्यो ।

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा भएको अधिवेशनमा जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँले प्रतिस्पर्धी अच्युत पौडेललाई ८७६ मतान्तरले पराजित गर्नुभएको हो । लामाले प्रतिस्पर्धीभन्दा दोब्बर बढी एक हजार ६४६ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा लामाको समूह नै विजयी भएको हो । पार्टीको जिल्ला समितिको नयाँ नेतृत्वका लागि शुक्रबार बनेपामा भएको मतदानमा कूल दुई हजार ५४४ प्रतिनिधिमध्ये दुई हजार ४६८ जनाले मतदान गरेकोे निर्वाचन समितिले जनाएको छ ।

बिजयीहरूमध्ये उपसभापतिमा रमेशप्रसाद न्यौपानेले एक हजार ५२३ र ठाकुरप्रसाद न्यौपानेले एक हजार ४००, सचिवमा गुणराज मोक्तानले एक हजार ४२० र माधवप्रसाद ढकालले एक हजार ४१० तथा सहसचिवमा समीर ब्याञ्जु श्रेष्ठले एक हजार ४४५ र रवीन्द्रनाथ सिग्देलले एक हजार ४१९ मत प्राप्त गर्नुभएको थियोे ।

यसैगरी खुला जिल्ला सदस्य पदमा यादवप्रसाद सापकोटा, बद्रीप्रसाद खकुरेल, स्थानीय तहतर्फबाट सदस्यमा अप्सरा ढुङ्गाना (सिपखान) टुल्कु लामा, दीपेन्द्र पौडेल, सनिता न्यौपाने बजगाई , बलराम कोइराला, रामकृष्ण पोखरेल, सीता खनाल, कुवेर सापकोटा, विश्वराम खड्का, अनिता थापा कार्की, भोलाप्रसाद भट्टराई, हरिश्चन्द्र अधिकारी, राधिका श्रेष्ठ तिमल्सिना, रामकृष्ण चापागाईं, वेदप्रसाद न्यौपाने, इन्दिरा बुढाथोकी, चेतबहादुर लामा, इन्द्रमाया लामा, हिरा तामाङ, दुर्गाप्रसाद अधिकारी, सरिता लामिछाने लामा, चित्रबहादुर गोले, रिता रुम्बा लामा कमलराज लामा, लक्ष्मी घिसिङ लामा, कृष्णबहादुर लामा र सावित्री माझी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

स्थानीय तहतर्फबाट सदस्यमा तेमाल गाउँपालिकाको महिलातर्फ सुनिता तामाङ, महाभारत गाउँपालिकाको खुलातर्फ जगत बम्जन र महिलातर्फ राधिका रानामगर निर्विरोध निर्वाचित हुनुभएको छ । समावेशी जिल्ला सदस्यमा खस–आर्यतर्फबाट जगन्नाथ गिरी, बालकृष्ण दाहाल, सन्तोष गौतम, हरिप्रसाद दुलाल, कल्पना ढकाल, रुपा लामा, तारादेवी आचार्य, रविना पाण्डे विष्ट तथा आदिवासी जनजातितर्फ कान्छा लामा, जोगलाला लामा, डिलबहादुर लामा, वीरबहादुर भोम्जन, सन्तमान तामाङ, ज्ञानबहादुर लामा, शान्ति लक्ष्मी श्रेष्ठ, सरस्वती श्रेष्ठ, सुजाता लामा, सुन्तली तितुङ, हिराकुमारी लामा र ज्ञानीमाया लामा विजयी हुनुभएको हो ।

यस्तै दलिततर्फबाट जिल्ला सदस्यमा धनराज सुर्खेती, अल्पसङ्ख्यक तर्फबाट रामप्यारी पोटे अवाले निर्विरोध तथा जिल्लाबाट एकसदस्यीय महाधिवशेन प्रतिनिधिमा श्यामबहादुर कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

सिन्धुपाल्चोक– कांग्रेस सिन्धुपाल्चोकको क्षेत्रीय अधिवेशनमा बालकृष्ण बस्नेत र आइतमान तामाङ निर्वाचित हुनुभएको छ ।

शनिबार भएको निर्वाचनमा क्षेत्र नं १ मा बस्नेत र क्षेत्र नम्बर २ मा तामाङ निर्वाचित हुनुभएको हो । बस्नेतले निकटतम प्रतिस्पर्धी तीर्थ लामालाई तामाङले कृष्णबहादुर तामाङलाई पराजित गर्नुभएको थियो

राति आएको परिणाममा बस्नेतको समूहबाटबाट सचिवमा कृष्णप्रसाद आचार्य र सञ्चवीर तामाङ, सह सचिवमा अजय तामाङ र सुजन पौडेल विजयी हुनुभयो भने सदस्यमा निमा शेर्पा, रामशरण बस्नेत, नेत्रबहादुर सापकोटा, पदमलाल श्रेष्ठ, रामशरण भण्डारी, स्वस्थानी कार्की थापा, हिराबहादुर भण्डारी, देवदोर्जे तामाङ र मानकाजी गुरुङ निर्वाचित भएका थिए ।

यस्तै क्षेत्र नं २ सभापतिमा तामाङको समूहका सचिवमा केशव श्रेष्ठ र विष्णु घोरसैनी, सहसचिवमा प्रेमसिंह तामाङ र दीपकुमार तामाङ तथा सदस्यहरूमा सुशीला लामिछाने, बुद्धिबहादुर तामाङ, शम्भुप्रसाद कोइराला, साइला तामाङ र तामा माझी निर्वाचित हुनुभयो ।

दाङ–नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शङ्करप्रसाद डाँगी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ र उहाँको निकटतम प्रतिद्वन्दी भूपबहादुर डाँगीले ५४५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, जानकीलाल बस्नेतले ४७१ र कमलकिशोर घिमिरेले ३१५ मत प्राप्त गर्नुभएको थियो ।

प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि सभापति पदका लागि आज आइतबार पुनः निर्वाचन हुने भनिएको भए पनि भूपबहादुर र शङ्करबीच भएको सहमतिपश्चात् शङ्कर जिल्ला सभापति हुनुभएको हो ।

भूपेन्द्रबहादुरले शङ्करलाई सभापतिमा समर्थन गरेपछि शङ्करलाई सभापति घोषणा गरिएको जिल्ला निर्वाचन समिति दाङका प्रवक्ता युवराज बस्नेतले जानकारी दिनुभयो । तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा निर्वाचित हुनु भएको हो ।

विसं २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसङ्घ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसक्नुभएको छ । विसं २०५९ मा नेविसङ्घको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उहाँ सफल हुनुभएको थियो ।

त्यसैगरी, उपसभापतिमा गिरीराज सुवेदीले ९१३ र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रत्याशीहरु एकराज शर्माले २१०, प्रदीप खड्काले ३४९, बुद्धिप्रकाश चौधरीले ८४१, मिनकेतन चौधरीले ६९४ र यज्ञबहादुर वलीले १२५ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

त्यस्तै, सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी निर्वाचित हुनुभएको छ । लम्सालले एक हजार पाँच र योगीले एक हजार १५७ मत प्राप्त गर्नुभएको छ । सहसचिव पदमा राजु आचार्यले एक हजार ५२ र सुबोधकुमार डाँगीले एक हजार ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । अन्य पदको भने अहिले मत गणना सुरु भएको छ ।

जिल्लामा पार्टीका दुई हजार एक सय ९२ मतदाता रहेकामा शनिबार भएको मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो ।

इलाम(मङ्गलबारे)– इलाम जिल्ला सभापतिमा युवा नेता डम्बर खड्का विजयी बन्नुभएको छ । अर्का प्रत्यासी भेषराज आचार्यलाई १६० मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो । प्राप्त मतपरिणाम अनुसार खड्काले ९३५ मत र आचार्यले ७७५ मत मात्र पाउनुभएको थियो ।

सभापतिमा खड्का निर्वाचित हुँदा अन्य पद भने मिश्रित बनेको छ । सो क्रममा उपसभापति पदमा आचार्य पक्षका खगेन्द्र देवान र विष्णु लिम्बू दाहाल निर्वाचित हुनुभएको छ ।

सचिव र सहसचिव पदमा आचार्य र खड्का पक्षका एक÷एकजना निर्वाचित हुनुभएको छ । आचार्यको समूहबाट सचिवमा पूर्णप्रसाद गौतम र खड्का समूहका निरोज खड्गी विजयी हुनुभएको हो ।

सहसचिवमा देवेन्द्र सुवेदी, डालाकुमारी कार्की विजयी बन्नुभयो । एक हजार ७९५ मतदाता रहेकामा एक हजार ७३२ मत खसेको र छ वटा मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिले प्राप्त गर्नुभएको मत पुनःगणना गर्दासमेत बराबरी आएको छ ।

गत मङ्गलबार सम्पन्न भएको मतदानमा क्षेत्रीय सभापतिका प्रत्यासी जगत कार्की र सूर्य गुरुङले समान ३९४ मत प्राप्त गरेपछि शनिबार पुनःमतगणना गरिएको थियो । शनिबार गरिएको पुनःमतगणनामा पनि दुवै उम्मेदवारको मत बराबरी आएको नेपाली कांग्रेसका सहायक निर्वाचन अधिकृत चुडामणि शर्मा कँडेलले जानकारी दिनुभयो ।

उम्मेदवारको मत बराबर आएको अवस्थामा गोलाप्रथाबाट विजयी उम्मेदवारको छिनोफानो गर्नुपर्ने विधान रहे पनि विरोध र असन्तुष्टिपछि उम्मेदवारको आग्रहमा शनिबार पुनः मतगणना भएको उहाँले बताउनुभयो ।

पुनःमतगणनामा पनि मत बराबर आएपछि अब भने गोलाप्रथाबाटै क्षेत्रीय सभापतिको टुङ्गो लगाउने गरी प्रक्रिया अगाडि बढाइने सहायक निर्वाचन अधिकृत कँडेलले जानकारी दिनुभयो ।

क्षेत्र नं २ को सभापतिमा टुङ्गो नलागेपछि जिल्लाको अधिवेशन नै पर धकेलिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जिल्ला अधिवेशन भने यही मङ्सिर १९ र २० गते हुने गरी तयारी थालिएको उहाँको भनाइ थियो ।

बागलुङ– बागलुङको सभापतिमा पुनःमतदान सुरु भएको छ । पहिलो चरणमा हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारको स्पष्ट बहुमत नआएकाले आज पुनः मतदान गर्नुपरेकोे निर्वाचन समितिले जनाएको छ ।

सभापतिको उम्मेदवार बन्नुभएका जगदीशचन्द्र उपाध्याय, दोर्ण कुँवर र जीत शेरचन तीनै जनाले बहुमत प्राप्त गर्नुभएन । उपाध्यायले ७९०, शेरचनले ६८६ र कुँवरले १६४ मत प्राप्त गर्नुभयो । पैँतालिस मत बदर हुँदा पहिलो हुनुभएका उपाध्यायका लागि ३१ मत पुगेन ।

पार्टीको विधानअनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत नल्याउँदासम्म पुनःमतदान गर्नुपर्ने व्यवस्था छ । जिल्लाभर एक हजार ७७५ मतदाता छन् । दोस्रो चरणको मतदानमा पहिलो र दोस्रो हुने उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.