जन सरोकार

सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीमा श्रमिक नपठाइने

सरकारले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीमा श्रमिक नपठाउने भएको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरोकारवालासँगको छलफललाई तीव्र पार्नुभएको छ ।

यस क्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्केका नेपाली श्रमिकसँग छलफल गर्नुभएको छ । छलफलमा सहभागीले स्वदेश फिर्ती, नेपाली श्रमिकले वैदेशिक रोजगारीमा भोग्नुपरेको बेथिति, वैदेशिक रोजगारीको सुरुआतदेखि नेपाल नफर्केसम्म नेपालीमाथि हुने गरेको ठगी र सरकारले तोकेका सेवासुविधा नपाएको गुनासो गरेका थिए ।

उनीहरूले बाध्यात्मक रूपमा वैदेशिक रोजगारी जानु परेको यथार्थ सुनाउँदै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न र स्वदेश फर्केका युवाको पुनःएकीकरणमा ध्यान दिन आग्रह गरेका थिए । अझै पनि स्वदेशमा रोजगारीको अवसर नभएको हुँदा दैनिक हजारौँ युवा विदेसिन बाध्य छन् ।

स्वदेश फर्केका युवाले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कंदा बाँकी पारिश्रमिकसमेत नपाएको गुनासो उनीहरूको थियो । सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनुपर्दा चन्दा सङ्कलन गर्नुपरेको उनीहरूको भनाइ थियो । उनीहरूले हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको, गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरूले न्यून पारिश्रमिकमा काम गर्नुपरेको तथा हिंसाको शिकार भएको बताएका थिए ।

वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको भोगाइ सुनेपछि मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने र त्यस्ता कम्पनीमा नेपाली पठाउन बन्द गरिने बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई पुनर्मिलन, सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै अगाडि बढाउने उहाँले बताउनुभयो ।

मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनःएकीकरण गर्न कार्यविधि तयार गरिरहेको छ । कार्यक्रममा आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.