जन सरोकार

कक्षा १२ को परीक्षाफल अबको एक महिनाभित्र सार्वजनिक हुने

कोभिड १९ महामारीका कारण निकै ढिलो सुरु भएको कक्षा १२ को परीक्षाफल अबको एक महिनाभित्र सार्वजनिक हुने भएको छ । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिने अवसर बोर्डले उपलब्ध गराएको थियो । शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाइदिएपछि तीन साताभित्र परीक्षाको बाँकी काम पूरा गर्ने बोर्डको तयारी छ ।

त्यसपछि सम्परीक्षणको काम एक साताभित्र सक्ने योजना छ । विद्यार्थीको प्राप्ताङ्क चढाउने र परीक्षा प्रकाशनको अन्तिम तयारी गर्ने योजना बनाइएको छ । यसका लागि तीन साताभित्र सकिने अध्यक्ष पौडेल बताउनुहुन्छ ।

यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डको तयारी छ ।

कोरोनाबाट प्रभावित विद्यार्थी परीक्षामा सहभागी हुँदा अन्य विद्यार्थीलाई सङ्क्रमणको समेत त्रास हुने भएकोले सङ्क्रमित विद्यार्थीलाई पुनः परीक्षा लिने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले भने यस खालका विद्यार्थीलाई अन्य विद्यार्थीभन्दा १५ मिनेट ढिला गरी परीक्षा प्रारम्भ गर्ने गरी सूचित गरिसकेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा सफलतापूर्वक सम्पन्न भएको जानकारी अधिकारीहरूले दिएका छन् । मङ्सिर ९ गते सुरु भएको कक्षा १२ का विद्यार्थीको वार्षिक परीक्षा मङ्गलबार सकिएको हो ।

परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी भौतिक रूपमै परीक्षामा सहभागी भई परीक्षा सफलतापूर्वक सम्पन्नभयो । यसपटक बोर्डले परीक्षा सुरु हुनुभन्दा आधा घण्टा पहिले मात्रै सम्बद्ध परीक्षा केन्द्रमा प्रश्न पत्र पठाउने प्रावधान यस पटकबाट सुरु गरेको छ । परीक्षामा यस खालको अभ्यास पहिलो पटक गरिएको हो । विद्यार्थीले यस पटक डेढ घण्टा मात्रै परीक्षामा सहभागी भए ।

यसपटक देशभर गरी चार हजार १०५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यस पटकको कक्षा १२ को परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ । साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.