पुल उदघाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी हिरासतमा

तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको पौडेलले फेसबुकबाट जानकारी दिनुभएको हो । पौडेलले फेसबुकमा लेख्नुभएको छ- “भर्खर प्रहरी परिचालन गरि मलाई र तनहुँ जिल्ला कार्यबाहक सभापति जित प्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !”
सो पुल संघीय सरकारको बजेटमा बनेको तर पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए । बुधबार पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले भने पुल उद्घाटनको विरोध गर्दै राष्ट्रिय युवा संघलगायतले विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको र झडपको सम्भावना भएको भन्दै पुल क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो ।
निषेधाज्ञाको पर्वाह गनरी बुधबार पौडेल पुल उद्घाटन गर्न कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित पुगेपछि प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै पौडेललाई नियन्त्रणमा लिएको हो । कांग्रेस कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीले लाठीचार्ज र दर्जनौ सेल अश्रुग्यासको सेल हानेको थियो ।
निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । नेता पौडेल, प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको छ
प्रतिक्रिया राख्नुहोस्