अपेन र माछापुछ्रे बैंकबीच महिला उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउन सम्झौता
एशोसियन अफ प्रिस्कुल एडुकेटर अफ नेपाल (अपेन)सम्वद्ध महिला उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन अपेन र माछापुछ्रे बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा अपेनका अध्यक्ष बद्री दाहाल र बैंकका कर्पोरेट एण्ड इन्फ्रास्ट्रक्चर ल्याण्डिङ विभागका प्रमुख सुवाश जमरकट्टेलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले अपेनमा आवद्ध महिला उद्यमीहरुलाई चारदेखि पाँच प्रतिशत ब्याजदरमा एक लाख रुपियाँदेखि १५ लाख रुपियाँको सहुलियत कर्जा उपलब्ध गराउने छ । अपेनका अध्यक्ष बद्री दाहालले यस सम्झौताबाट अपेनमा आवद्ध बाल विद्यालय तथा शिशु स्याहार केन्द्र सञ्चालन गर्ने महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय अघि बढाउन प्रत्यक्ष सहयोग पुग्ने आफूहरुको आशा रहेको बताए ।
बिना धितो प्रवाह गर्ने भनिएको सुलभ कर्जाको व्याज समेत ४-५ प्रतिशत मात्र लाग्ने सो अवसरमा जानकारी गराईयो।सहुलियत कर्जा उपलब्ध गराउन आवश्यक कागजी प्रक्रियाका लागि इम्पायर फाइनान्सियल सर्भिसेज, शान्तिनगर, काठमाडौंले काम गर्ने बताउँदै पुरुष उद्यमीहरुलाई पनि यस्तो सहुलियत कर्जाका लागि अपेनले पहल गर्नेछ ।
यस सम्झौताबाट अपेनमा आवद्ध पाँच सय महिला उद्यमीहरुले सहुलियत कर्जा प्राप्त गर्नसक्ने अपेनका अध्यक्ष दाहालले बताए ।
प्रतिक्रिया राख्नुहोस्