राष्ट्रसंघमा नेपालले समर्थन गर्यो गाँजालाई औषधिजन्य वनस्पतिका रुपमा
नेपालमा नियन्त्रित रुपमा खुला गरिनुपर्ने माग उठिरहेका बेला संयुक्त राष्ट्रसंघमा नेपालले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा मतदान गरेको छ । नेपालसहितका मुलुकको समर्थनमा राष्ट्रसंघले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाएको छ ।
विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस गरे बमोजिम लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोगले बुधबार बहुमतका आधारमा प्रस्ताव पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ ।
भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा गाँजाजन्य वस्तुलाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा २७ देशले समर्थन जनाएका थिए भने २५ देशको विपक्षमा मत परेको थियो । प्रस्तावको पक्षमा मतदान गरेका देशमध्ये नेपाल पनि रहेको म्यारूवाना बिजनेस डेलीले लेखेको छ ।
अन्य पक्षराष्ट्रमा अमेरिका, बेलायत, दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, इटाली, जर्मनी, भारत लगायत छन् । जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तान लगायतले भने विपक्षमा मतदान गरेका थिए। युक्रेन मतदानमा अनुपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
राष्ट्रसंघको “सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१” अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो। पछिल्लो निर्णयअनुसार अब यसलाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ ।